वीरगन्ज,वीरगन्ज ठोरी हुलाकी सडकखण्डमा रहेको तिलावे नदीमा वर्षौदेखि अलपत्र रहेको निर्माणाधीन पुलको निर्माण कार्य छिट्टै पूरा गर्न माग गर्दै आन्दोलनरत युवाहरुले मंगलबार पनि जिल्लका विभिन्न राजनीतिक दलका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएका छन् ।
युवाहरुको सक्रियतामा गठित तिलावे पुल निर्माण दबाब समुहले जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, नेकपा एकिकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जिल्ला संयोजक पुरुषोत्तम झा, नेकपा माओवादी केन्द्रका नेता विजय महत्तो थारुलाई मंगलबार छुटटाछुटटै भेटेर ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराएका हुन् ।
यसअघि सोमबार तिलावे पुल निर्माण दबाब समुहले नेपाली काँग्रेस पर्साका सचिव श्याम पटेललाई भेटेर ज्ञापन पत्र बुझाएको थियो । पुल निर्माणको बिषयमा सबै दलहरु सकारात्मक भएको आफूले पाएको तिलावे पुल निर्माण दबाब समुहका एक सदस्य राकेश यादवले बताउनुभयो ।
यस्तै कात्तिक १० गते तिलावे पुल निर्माण दबाब समु्हले पुल निर्माण स्थलमै प्रदर्शन गरेको थियो भने कात्तिक ११ गते पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाललाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।
समुहले वीरगन्जको घण्टाघर चोकमा हस्ताक्षर संकलन कार्यक्रम जारी राखेको छ । पर्सा जिल्लाको ग्रामीण भेगलाई सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र तिलावे नदिमा ६ वर्षदेखि निर्माणाधीन नयाँ पक्की पुल अहिलेसम्म पनि नबन्दा जिल्लाबासीले आवागमनमा सास्ती खेप्दै आएका छन् ।
२०७२ सालमा ३ वर्षभित्रै पुल निर्माण कार्य सक्ने गरि सम्झौता गरेर ठेक्का लिएको लुम्बीनी पप्पु जेभि कन्ट्रक्सनले अहिले ६ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य पुरा नगरी अलपत्र पारेको छ ।
निर्माणाधीन नयाँ पक्की पुल अलपत्र पर्दा तिलावे नदीको पुरानो साँघुरो फलामे पुलमा हरेक दिन बिहान र साँझको समयमा ट्राफिक जाम लाग्ने गरेको छ ।