निजगढ,विवादका कारण रोकिएको निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको निर्वाचन आज बिहीवार हुने भएको छ ।व्यवस्थापन समितिको निर्वाचन रोक्न भनेर जिल्ला प्रशासन कार्यालय बाराले गरेको पत्राचार विरुद्ध क्याम्पस सभा सदस्यहरुले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा गरेको रिट निवेदन तामेमीमा गएपछि क्याम्पसको नयाँ व्यवस्थापन समितिको चुनाव हुन लागेको हो ।नेपाली कांग्रेससहित स्थानीय ५ राजनीतिक दलका प्रतिनिधिहरुको मागअनुसार जिल्ला प्रशासन कार्यालय बाराले सभा स्थगित गर्न भनेर पत्राचार गरेपछि गत गत जेष्ठ ३ गतेको लागि तय भएको व्यवस्थापन समिति चयन गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो ।जिल्ला प्रशासन कार्यालय बाराको निर्वाचन रोक्ने पत्र विरुद्ध क्याम्पस सभाका सदस्य मानबहादुर श्रेष्ठ र मनोज रेग्मीले उच्च अदालत जनकपुरधाम अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दिएका थिए । निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीको रोहबरमा दुबै पक्ष समितिको चुनाव गर्न सहमत भएसंगै श्रेष्ठ र रेग्मीले मुद्दा फिर्ता लिएपछि निर्वाचनको बाटो खुलेको हो ।व्यवस्थापन समितिको चुनाव गर्न भनेर गठन भएको निर्वाचन मण्डलका सदस्यसमेत रहनुभएका क्याम्पस प्रमुख रामप्रसाद गौतमका अनुसार बिहीवार मतदाता नामावली प्रकाशन, उम्मेद्वारी दर्ता र उम्मेदवारको नामावली प्रकाशन तथा दाबी विरोध दर्ता गर्ने मिति निर्धारण गरिएको छ भने शुक्रवार व्यवस्थापन समितिको लागि मतदान हुने कार्यक्रम छ ।निर्वाचनबाट १ जना अध्यक्षसहित ४ जना सदस्य चयन गरिने क्याम्पस प्रमुख गौतमले जानकारी दिनुभयो ।


















