सिमरा,पर्सा राष्ट्रिय निकुञ्जमा घाइते र जोखिममा परेका वन्यजन्तुको संरक्षणको लागि उद्धार केन्द्र सञ्चालनमा ल्याइएको छ ।“सुरक्षित मानिस, संरक्षित वन्यजन्तु” भन्ने सन्देशलाई व्यवहारमा उतार्ने लक्ष्यसहित स्थापना गरिएको उद्धार केन्द्रले अब घाइते, बस्तीमा छिरेका वा जोखिममा परेका जनावरको तत्काल उद्धार, उपचार र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उद्धार केन्द्र (हात्तीसार) को उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गर्नुभएको हो ।कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले स्थानीय तह र निकुञ्जबीच सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिँदै आवश्यक परे नगर प्रहरी तथा पशु चिकित्सकमार्फत सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले संरक्षणमा समुदायको बढ्दो सहभागितालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै विकास र संरक्षणबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, अवैध सिकार नियन्त्रण र प्राकृतिक स्रोतको दिगो उपयोगमा जोड दिएका थिए ।

सञ्चारकर्मीहरूलाई संरक्षण सन्देश जनस्तरसम्म पु¥याउन तथ्यपरक र जिम्मेवार सामग्री उत्पादन गर्न आग्रह गरिएको थियो ।अन्तरक्रियाअघि सञ्चारकर्मीहरूलाई निकुञ्ज क्षेत्रको स्थलगत अवलोकन गराइएको थियो, जसले संरक्षणका प्रयास र चुनौतीबारे प्रत्यक्ष बुझ्न सहयोग पुगेको आयोजकको भनाई छ ।

Leave a Reply