बरियारपुर,श्रीगढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयको तीन तले भवनको शिलान्यास गरिएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर– १ स्थित गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयको तीन तले भवनको शिलान्यास महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवले गर्नुभएको हो । गढिमाई मेला वली रंगशाला नजिक खरिद गरिएको २ बिगाहा जग्गामा तीन तले भवनको शिलान्यास नगर प्रमुख यादवले गर्नुभएको हो । मानव स्रोत बिकास केन्द्र कार्यालयको अनुदानमा गुरु योजना अन्तर्गत श्री गढीमाई प्राविधिक नमुना माध्यमिक विद्यालय भवनको निर्माण हुन लागेको छ । ४० वर्ष भन्दा पहिला निर्माण गरिएको पुरानो भवन नजिकको हाट बजार र गढीमाई मन्दिरका कारण ध्वनि प्रदुषणले पठनपाठन प्रभावित बन्दै गएकोले विभिन्न संघसंस्थाको र नगरपालिकाको सहयोगमा विद्यालयको नाममा २ बिगाहा जग्गा खरिद गरि भवन निर्माण हुन लागेको नगरप्रमुख उपेन्द्र यादवले शिलान्यास क्रममा बताउनु भएको छ । उहाँले भने नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयको बिकास र विद्यार्थीहरूको भबिष्य उज्जवल पार्न कुनै कसर बाँकी रहन नदिने बताउनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष दिपप्रकाश गुप्ताको निगरानीमा अढाइ तल्ला भवन निर्माण भइसकेको छ भने अर्को तीन तले भवनको निर्माण हुन लागेको हो । तीन तले भवनको निर्माण कार्य छ महिनाभित्रमा कार्य सम्पन्न गर्न विद्यालयका अध्यक्ष गुप्ताले शिलान्यास कार्यक्रममा आफ्नो प्रतिवद्धता जनाउनु भएको छ । शिलान्यास कार्यक्रमा, नेपाल शिक्षक संघका अध्यक्ष प्रमहंश यादव, भैयाराम यादव, बिजय साह, झब्बु साह पानालाल कलवार, ओम प्रकाश, प्रेम साह, कैलाश महतो, राजेश्वर लहेरा, जाकिर हुसेन, बिन्दा कलवार, शान्मती देबी, बैजनाथ महतोलगायतको उपस्थिति रहेको थियो ।