वीरगन्ज,सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीसँग शुल्क मागेको विषयमा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले वीरगन्जको नेसनल मेडिकल कलेजसंग स्पष्टीकरण सोधेको छ । सरकारी छात्रवृत्तिमा पढेका विद्यार्थीसँग शुल्क मागेको विषयमा कलेजसँग जानकारी माग गरेको आईओएमकी डिन प्रा.डा.दिव्या सिंह शाहले बताउनुभयो । आयोगले परीक्षा सामेल गराउनु भनेर पत्र पठाएको छ । आफन्तहरुले कलेजलाई सोधेको र जवाफ भने नआएको उहाँले बताउनुभयो । परीक्षा फारम भर्ने अन्तिम मिति मंगलबार सकिँदैछ । समस्यामा परेका विद्यार्थी रामजी रामले आफूले फारम भर्न पाउने वा नपाउनेबारे कतैबाट जानकारी नआएको बताउनुभयो । सरकारी छात्रवृत्तिमा एमबीबीएस पढिरहेका रामजी रामलगायतका विद्यार्थीसँग नेशनल मेडिकल कलेजले विभिन्न शीर्षकमा शुल्क मागेको र नतिरेमा परीक्षा फारम भर्न रोक लगाएको समाचार सार्वजनिक भएको थियो । त्यसपछि चिकित्सा शिक्षा आयोगले रामजी रामलगायतका विद्यार्थीको समस्या बुझेर अतिरिक्त शुल्क नलिई परीक्षामा सामेल गराउन पहल गर्न आईओएमलाई पत्र पठाएको थियो । आयोगका सदस्य सचिव डिल्लीराम लुईंटेलले नेसनल मेडिकल कलेजलाई पनि विद्यार्थीसँग अतिरिक्त शुल्क नलिन र परीक्षामा सामेल गराउन पत्र पठाएको बताउनुभयो । आयोगले आयोग सदस्य समेत रहनुभएका कलेज सञ्चालक बसरुद्दिन अन्सारीलाई पनि मौखिक रुपमा विद्यार्थीलाई परीक्षामा सामेल गराउन निर्देशन दिएको जनाएको छ ।