सिमरा,बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल प्रालिको उद्योगमा स्थानीय जनता र जनप्रतिनिधिले लगाएको ताला प्रशासनले तोड्न लगाएको छ । उद्योगले जडान गरेको नयाँ मेसिनका कारण छेउछाउका घरहरु चर्कन थालेपछि क्षतिपूर्तिको माग गर्दै स्थानीय र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले उद्योगमा लगाएको ताला प्रशासनले सोमबार बाक्लो प्रहरीको उपस्थितिमा तोडेको हो । सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनेर निर्माण गरिएको संरचनामा जगदम्बा स्टिल प्रालिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गर्दा उद्योग छेउछाउमा रहेका घरका पर्खालहरु चर्किन थालेका थिए ।
स्थानीयहरुले उद्योगविरुद्ध वडा कार्यालयमा गुनासो गरेपछि वडा अध्यक्षले उद्योगलाई पत्र लेख्दै क्षतिपूर्ति उपलब्ध गराउन आदेशसमेत दिएको थियो । तर उद्योगले उक्त आदेशको वेवास्ता गर्दै आएको छ । उद्योगलाई पटक–पटक आग्रह गर्दापनि वडा कार्यालयको अनुरोध नमानेपछि फागुन ११ गते वडा कार्यालयले स्थानीयहरुको रोहबरमा वडा कार्यालयमा तालाबन्दी गरेको थियो । उद्योगले रड काट्ने, बाङ्गोटिङ्गो रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएको र रातभर बालवालिकाहरु त्रसित भई सुत्न समेत नसक्ने र झस्कने गरेको स्थानीय बताउँछन् । शुरुमा टिभिएस मोटरसाईकलको स्वरुम भनेर संरचना बनाईयो, पछि गोदामघर र पाकिङ्ग भनियो, हुदाँहुदाँ अहिले ठूलोठूलो आवाजमा मेशिन सञ्चालन भएपछि घरहरु सबै चर्किएर भत्किए पनि स्थानीयको मागलाई उद्योगले अटेर गर्दै आएको स्थानीय सोहन शर्माले बताउनुभयो । जीतपुरसिमराका उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले पनि पार्किङ्ग र गोदाम घर भनी मौखिक सहमति लिएर उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेर सञ्चालन गरेको आरोप लगाउनुभयो । स्थानीयहरुको घर चर्कने र धुलो, धुवाँका कारण स्वाथ्य समस्या देखिएको भन्दै उद्योग प्रशासन र स्थानीयबीच धेरै पटक बिवाद र छलफल हुदै आए पनि उद्योगले अटेर गरेका कारण हालसम्म ठोस् निर्णय भने हुन सकेको छैन ।