वीरगन्ज,बाराको पूर्वपश्चिम लोकमार्गको निजगढ पथलैया र पथलैया अमलेखगंज सडकखण्डको जंगलमा यौनजन्य कृयाकलाप बढेपछि त्यसको नियन्त्रणका लागि स्थानीयवासी सकृय भएका छन् । प्रहरी र वन गस्ती टोली तथा अमलेखगन्जका स्थानीयवासीको सहयोगमा लोकमार्ग छेउका जंगलभित्र हुने यौनजन्य कृयाकलाप रोक्नका लागि संयुक्त पहल थालिएको प्रहरीले जनाएको छ । कम आय भएका महिला तथा कशिोरीहरू दाउरा घाँसको बहानामा बिभिन्न स्थानबाट आएर लोकमार्ग छेउछाउको जंगलमा यौन क्रियाकलामा सरिक हुनेक्रम बढेको र यसले समाजमा विकृति बढाएको भनेर स्थानीयवासीले गुनासो गरेपछि त्यस्ता अवान्छित कृयाकलाप नियन्त्रणका लागि बारा प्रहरी सकृय भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
बारामा रहेको निकुञ्ज क्षेत्र, राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा देह व्यापार हुने गरेको दाबी स्थानीयको छ । गत महिना आधाभार क्षेत्रको सडकमै बाघ आएर आतंक मच्चाएको घटना सार्वजनिक भएपछि भने त्यस क्षेत्रमा यौनजन्य कृयाकलापमा कमी आएको प्रहरी नायब उपरीक्षक मिश्रको दाबी छ । पुर्वपश्चिम लोकमार्गका कारण यौन व्यवसायमा लागेका महिलाहरुको ग्राहक सवारी चालक मात्र नभइ प्रहरी र निकुञ्जका कर्मचारी समेत हुने गरेको स्थानीयको भनाइ छ । आर्थिक अवस्था कमजोर रहेका महिलाहरु यस्तो कार्यमा लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरी नायब उपरीक्षक मिश्रले पनि महिलाहरुको ग्राहक प्रहरी पनि हुने गरेको कुरा सुन्नमा आएपनि त्यसको पुष्टी भने नभएको बताउनुभयो । उहाँले सार्वजनिक स्थालमा सहमतिमा नै यौंनजन्य कृयाकलाप जसले गरेपनि कानुन अनुसार कारवाही हुने बताउनुभयो । बारा प्रहरीले लोकमार्ग क्षेत्रमा बिशेष योजना सहितको अभियान संचालन गर्ने तयारी पनि गरिरहेको मिश्रले बताउनुभयो ।