वीरगन्ज,पर्साको शहरी भेगमा कोरोना भाईरस विरुद्धको खोपको अभाव भइरहेको अवस्थामा जिल्लाको ग्रामीण क्षेत्रमा खोप लगाउने मानिसहरुको अभाव देखिएको छ । सरकारले काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्रै कोरोना भाईरस विरुद्धको खोप लगाउने भनेको छ । तर, पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु खोप लगाउन नआउने र शहरी क्षेत्रमा भने लक्षित उमेर समूह भन्दा बाहिरको व्यक्तिहरु समेत खोप लगाउन आउँदा खोप संचालनमा नै समस्या सृजना भएको छ । पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाउन आउने लक्षित उमेर समूहको संख्या अत्यन्त न्यून रहेका छ । पर्साको ठोरी गाउँपालिकामा ३ सय ५८ जना लक्षित समूहको संख्या रहेकोमा करिब २ सय जनाले मात्रै खोप लगाएका छन् । प्रचार प्रसार गरेको भएपनि केहीले खोप लगाउने इच्छा नदेखाएको, केहीलाई ज्वरो आएको अवस्थामा लगाउन नमिल्ने भएर तथा केही बसाइँसराईले संख्या घटेको स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले ग्रामीण क्षेत्रमा खोप लाउने संख्या कम हुँदा ३० प्रतिशत मात्रै कभरेज भएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा खोप लगाउने मान्छे नआउँदा खोप कार्यक्रम नै असफल भएको छ भने, महानगरपालिकाको शहरी क्षेत्रमा भने लक्षित समूह भन्दा बाहिर समूहका व्यक्तिहरुले खोप पाउनुपर्छ भनेर आउँदा खोप दिन नमिल्दा समस्या उत्पन्न भएको छ । अन्तरव्यक्ति सञ्चार, महिला स्वयंसेविकाहरु मार्फतबाट पनि सूचना प्रवाह गरेको भएपनि ग्रामीण क्षेत्रमा भने चीनबाट ल्याएको खोपमा भ्रम सृजना गरिएका कारण खोप लगाउन नआएको खोप अधिकृत सिंहको भनाइ छ । पर्सामा १२ हजार जति ६२ देखि ६४ बर्ष उमेर समूहको लक्षित संख्या रहेकोमा १० हजार ८ सय ३० डोज मात्रै खोप उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा खोप लगाउन नमान्दा र महानगरमा भने खोप अपुग हुँदा खोप वितरणको सन्ुतलन नै बिग्रिएको छ । यसलाई जिल्ला खोप समन्वय समितिसँग छलफल गरेर निर्णय गरिने खोप अधिकृत सिंहले बताउनुभयो । जेठ २८ गते र २९ गते खोप लगाईएको र आइतबारदेखि खोप कार्यक्रम रोेकेको जानकारी दिदै उहाँले अब खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै कार्यक्रम संचालन गरिने बताउनुभयो ।

पर्साको जीराभवानी गाउँपालिकाका १४५ जनाले मात्रै खोप लगाएका छन् । जगरनाथपुर गाउँपालिकामा ४०० को हाराहारीमा लक्षित उमेर समूह भएपनि १६४ जनाले मात्रै खोप लगाएका छन् । त्यस्तै छिपहरमाई गाउँपालिकामा ४४७ जना लक्षित समूहको संख्या रहेकोमा ६१ जनाले मात्रै खोप लगाएका छन् । धोविनी गाउँपालिकामा ३४१ जनामा ४८ जनाले, पकाहामैनपुरमा ५७ जनाले लगाएका छन् । त्यसैगरी ४१० लक्षित उमेर समूहको संख्या रहेको विन्दवासिनीमा १९८ जनाले मात्रै खोप लगाएका छन् । बहुदरामाई नगरपालिकामा ६६१ जना लक्षित उमेर समूहको संख्या मध्य ३३० जनाले लगाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश गाउँपालिकामा चिनीयाँ खोपले काम गर्दैन भनेर भ्रम फैलाइएका कारणले पनि खोप लगाउन डराएर नआएको गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले बताएका छन् ।

Leave a Reply