निजगढ, ९ मंसिर– निजगढ नगरपालिकाले चालु आर्थिक वर्षको लागि आह्वान गरेको ढुङ्गा, गिटी र बालुवा उत्खनन तथा निकासी ठेक्काको विषयमा अझै पनि कुनै कुनै निर्णय गर्न सकेको छैन ।
नगर कार्यपालिकाको सोमबार बसेको बैठकले ठेक्का सदर वा बदर गर्ने बारेमा कुनै निर्णय गर्न नसकेपछि अन्यौल बढेको छ । ठेक्का बारे निर्णय गर्न भनेर यसअघि बसेको बैठकमा पनि कार्यपालिका सदस्यहरुबीच मत नमिलेपछि निर्णय हुन नसकेको थिएन ।
यसअघि २ पटक बसेको बैठकमा पनि सदस्यहरुको मत फरक परेपछि बैठक त्यसै टुङ्गिएको थियो । निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछानेसहित कार्यपालिका बहुमत सदस्यहरु सबै भन्दा बढी अंकमा ठेक्का कबोल गर्ने हिमानी सिमेन्ट ब्लक उद्योग, निजगढको नाममा ठेक्का सदर गर्ने पक्षमा हुनुहुन्छ भने प्रमुख सुरेश खनाल र केही सदस्यहरु ठेक्का रद्द गर्ने पक्षमा देखिदैआउनुभएको छ ।
उपप्रमुख लामिछानेसहित वहुमत कार्यपालिका सदस्यले हिमानीलाई नै ठेक्का दिनु पर्ने भन्दै यसअअघि नै निर्णण गरेर नगरपालिका कार्यालयमा दर्तासमेत गराइसक्नुभएको छ । नगरप्रमुख सुरेश खनालले कार्यपालिका बैठकले कुनै निर्णय गर्न नसकेपछि नगरपालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै आवश्यक कानुनी परामर्शपछि १/२ दिनभित्र ठेक्का रद्द गर्ने निर्णय लिइने बताउनुभएको छ । नगरप्रमु्ख खनालले कार्यापालिकाको निर्णय बेगर नै टिप्पणी उठाएर ठेक्का बदर गर्ने तयारी गर्नुभएको हो ।
नगर प्रमुख खनालसहितका केही सदस्यहरुको सबै भन्दा बढी रकम कबोल गरेको भएपनि हिमानीले दाखिला गरेको बैंक भौचरबाट सोही दिन नगरपालिकाको निजगढस्थित कृषि विकास बैंक खातामा धरौटी रकम जम्मा नभएको देखिएकाले उसको नाममा ठेक्का सकार गर्न नमिल्ने र बदर नै गर्नु पर्ने पक्षमा हुनुहुन्छ ।
उता, नगर उपप्रमुख लामिछानेसहित कार्यपालिकका वहुमत सदस्यहरु भने कम्पनीले सोही दिन धरौटी रकम जम्मा गरेको भएपनि बैङ्क क्लियरिङ्गबाट जम्मा हुने क्रममा नगरपालिकाको खातामा आउन केही ढिला भएकोले सबै भन्दा बढी रकम कबोलकर्ताको रुपमा हिमानीको नाममा नै ठेक्का सदर गर्नु पर्ने पक्षमा रहनुभएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको लागि बकैया र धन्सार खोलाबाट नदीजन्य पदार्थ उत्खनन तथा निकासीको लागि गत कार्तिक १७ गते खोलेको बोलपत्रमा हिमानीसहित ६ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । ठेक्का हात पर्न ठेकेदारहरुबीच भएको व्यापक मिलिमतोका बाबजुद पनि ६ वटा कम्पनीले बोलपत्र भरेका छन ।
न्युनतम १३ करोड ३२ हजार ९१ रुपैयामा सकार गर्न भएको टेण्डरमा हिमानीले १३ करोड ५१ लाख, न्यु पाथीभरा सप्लायर्सले १३ करोड ३१ लाख ११ हजार १११, बिकोइ विल्डर्सले १३ करोड, २५ लाख, २५ हजार ५५१ तथा सुदीपा ट्रडिङ्गले १३ करोड १ हजार १ सय र मेचीमहाकाली सप्लायर्सले १३ करोड ५५० रुपैयामा बोलपत्र कबोल गरेका छन ।
दोस्रो बढी रकम कबोल गर्ने न्यु पाथिभराले पनि बैङ्क भौचरको प्रतिलिपिमात्रै बुझाएपछि ठेक्कामा जटिलता थपिएको थियो । तेस्रो नम्बरमा रहेको बिकोइ विल्डर्सले सबै प्रकृया पुरा गरे पनि बोलबबोल फारम भर्ने क्रममा मिलिमतोमा अन्य ठेकेदारहरुलाईसमेत मोटो रकमको चेक बाढेको पाइएपछि नगर कार्यपालिकाले उसको पक्षमा पनि निर्णय गर्न नसकेको हो ।