भक्तपुर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म पार्टीको जनप्रदर्शन नरोकिने बताउनुभएको छ ।आइतबार प्रेस चौतारी नेपालसँग आबद्ध पत्रकारहरूसँग आफ्नै निवास गुण्डुमा कुराकानी गर्दै अध्यक्ष ओलीले प्रदर्शन अझ सशक्त रूपमा अघि बढ्ने बत्ताउनुभयो । ’हामीले जनप्रदर्शन सुरु गरेका छौँ, यो रोकिनेवाला छैन, अझ बढ्दै जान्छ’, उहाँले भन्नुभयो ।
वर्तमान सरकारले जनप्रतिनिधि वा संविधानप्रति कुनै उत्तरदायित्व नराखेको उहाँले बत्ताउनुभयो । अहिलेको सरकार असंवैधानिक भएको उहाँको दाबी छ । उहाँले भन्नुभयो, ‘यो सरकार असंवैधानिक सरकार हो, यो कसैप्रति उत्तरदायी छैन, यसलाई कसैले चिन्दैन, त्यसैले यस्तो सरकार हट्नुपर्छ ।’प्रतिनिधि सभा पुनस्र्थापनाको मागसहित सुरु गरिएको एमालेको जनप्रदर्शन नरोकिने उहाँले स्पष्ट पार्नुभयो । ‘प्रतिनिधि सभा पुनस्र्थापना नभएसम्म यो आन्दोलन रोकिन्न, यो अझ फैलिँदै जान्छ, रोकिनेवाला छैन ।’ उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले एमालेले कहिल्यै चुनावबाट पछि नहट्ने स्पष्ट गर्दै अहिलेको ‘अवैधानिक सरकार’लाई चुनाव गराउने अधिकार नै नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमाले चुनावबाट भाग्दैन तर यो अवैधानिक सरकारलाई देशमा चुनाव गराउने हक छैन, त्यसैले विघटित प्रतिनिधि सभा शीघ्र पुनस्र्थापित हुनुपर्छ ।’



















