निजगढ, २५ असोज– निजगढ नगरपालिकामा संचालित सामुदायिक र संस्थागत विद्यालयहरु सोमबारबाट फेरि बन्द हुने भएका छन ।
नगरपालिकामा आइतबार बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण, न्युनीकरण तथा अनुगमन समितिको बैठकले निजगढमा कोभिड– १९ संक्रमण जोखिम बढेको भन्दै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहदै आएका विद्यालय संचालनमा आएको एक सातापछि फेरि बन्द हुने भएका हुन । निजगढ कार्यपालिका बैठकले प्रतक्ष्य शिक्षण सिकाइ कार्यकलाप संचालन कार्यविधि– ०७७ पारित गरेपछि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुले कार्यविधिअनुसार सुरक्षा सतर्कता अपनाएर अघिल्लो आइतबारबाट पठन पाठन शुरु गरेका थिए ।
बैठकले अर्को निर्णय नभएसम्मको लागि विद्यालयबाट हुदै आएको प्रतक्ष्य शिक्षण सिकाइ क्र्रियाकलाप बन्द गर्ने निर्णय गरेको नगरपालिका शिक्षा, खेलकुुद तथा युवा शाखा प्रमुख उत्तम लामिछानेले जानकारी दिनुभयो । उहाँले निजगढ नगरपालिका स्वास्थ्य शाखाको सुझावको आधारमा समितिले निर्णय गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख रमेश लामाले पछिल्लो समय निजगढ नगरपालिकाभित्र कोरोना संक्रमण बढेको र विद्यालय संचालन गर्दा जोखिम थप बढने देखिएकोले पठनपाठन बन्द गर्न समितिमा आग्रह गर्नुभएको थियो । लामाकाअनुसार निजगढमा हाल ११ जनामा सक्रिय संक्रमित छन । गत बिहिबार २२ जनामा गरिएको परीक्षणमा थप ७ जनामा पुष्टि भएपछि संक्र्रमितको संख्या ११ पुगेको हो । संक्रमित सबै जना हाल होम आइसोलेशनमा रहेको बताइएको छ । पछिल्लो समय देखिएको संक्रमणले निजगढमा पनि समुदाय स्तरमा कोरोना फैलिएको पुष्टि भएको पनि लामाले बताउनुभएको थियो ।
नगरप्रमुख सुरेश खनालको अध्यक्षतामा बसेको बैठकले निजगढ नगरपालिकाभित्र संचालित प्रतेक अटो सवारीमा स्वास्थ्य सुरक्षा मापदण्ड बमोजिम ३ जना भन्दा बढी यात्रु राख्न नपाउने प्रावधानलाई कडाइकासाथ कार्यान्वयन गर्न स्थानीय सुरक्षा निकायलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी निजगढ नगरपालिकाभित्र संचालनमा रहेको खसी बजार र अन्य हाट बजारमा बढदै गएको भिडभाडबाट कोरोना संक्रमण जोखिम बढेकोे भन्दै कर्मचारी खटाएर व्यवस्थित पार्ने र सिगौलस्थित नागदह झरना र मोहोरीलगायतका नगरभित्रका अन्य पर्यटकीय स्थानमा भिडभाड हुन नदिने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको नगर उपप्रमुख लिलादेवी लामिछानेले जानकारी दिनुभयो ।