वीरगञ्ज । नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलन फिर्ता लिने र पठन पाठन शुचारु गर्ने निर्णय गरेको छ ।बिहीवार वीरगञ्ज महानगरपालिका र नेपाल शिक्षक महासंघ वीरगञ्ज महानगर समितिबीच भएको सहमति अनुसार आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर पठन पाठन सुचारु गर्ने निर्णय भएको हो ।सरुवाको विषयलाई लिएर आन्दोलित भएका शिक्षकहरु महानगरले सरुवा गरेको स्थानमा हाजिर हुन सहमत भएका छन ।सहमतिको बुँदा नम्बर ८ मा लेखिएको छ, “बुँदा नम्बर १ र २ मा उल्लेखित मागहरुको सन्दर्भमा हाल सरुवा भएको ठाउँमा हाजिर हुने र समस्या भएकाको हकमा एक महिनामा निवेदन पर्न आएको आधारमा समस्या समाधान गर्दै जाने ।“त्यस्तै सहमतिमा प्रत्येक महिना प्रधानाध्यापकहरुसँग बैठक बस्ने र तोकिएबमोजिमको बैठक भत्ता उपलब्ध गराउने, विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न आचार संहिता लागु गर्ने, महानगरका शिक्षा सम्बन्धि समितिमा शिक्षक महासंघको प्रतिनिधिलाई सहभागी गराउने, दरबन्दी मिलान गरी नपुग विषयगत शिक्षक र कर्मचारीको व्यवस्थापन गर्ने र शिक्षक कर्मचारीको सरुवा गर्न सुझाव दल गठन गरी सुझाव लिने निर्णय गरिएको छ । वार्तामा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण र शिक्षा अधिकृत हरि राउत सहभाग िरहेका थिए ।यस्तै शिक्षकहको तर्फबाट नेपाल शिक्षक महासंघका महानगर अध्यक्ष एवं वार्ता टोली संयोजक विनोद मेहताको नेतृत्वमा नेपाल शिक्षक संघका अध्यक्ष प्रदीप जयसवाल, समाजवादी शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, एकिकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष रामेश्वर पटेल र नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव रेयाज आलमको सहभागिता रहेको थियो ।


















