कलैया, ७ असोज– प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर– ९ बसबरियाबाट नक्कली १२ लाख रुपैयासहित २ जनालाई बुधबार नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर– ५ सिहासनी बस्ने शम्भु चौधरीको छोरा वर्ष २३ को बलिराम चौधरी र भारत बिहार मोतिहारी जिल्ला झरौखर बस्ने दशै साहको छोरा वर्ष २७ को संदिप कुमार रहेका छन । उनीहरुलाई एक हजार दरको १२ सय १६ थान नक्कली नेपाली रुपैयासहित नियन्त्रणमा लिइएको हो । प्रहरीले संन्दीपले प्रयोग गरेको बा.६४ प ९७०६ नम्बरको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
प्रहरीकाअनुसार भन्सार छली ल्याइएका मोबाइल बिक्री गर्ने क्रममा खरिदकर्ता व्यक्तिले उक्त नक्कली नोटहरू दिएर फरार भएको बताइएको छ । पहिचान नखुलेका ती ३० थान मोबाइलबापत सो नक्कली नोट दिएर फरार भएको बताइएको छ ।
सिम्रौनगढ नगरपालिका बसवरियाको नहर छेउमा चोरीका मोबाइलहरू खरिद बिक्री भएको भन्ने विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोली तत्काल घटना स्थलमा पुगेर चेकजाँच गर्दा नक्कली रुपैयासहित २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । उनीहरुको शरीर तलासी गर्दा संदिपले बोकेको पहेलो रंगको झोलाभित्र रातो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त रकम फेला परेको थियो । नक्कली नोट दिएर मोवाइल लैजाने व्यक्तिको पनि खोज खोजतलास कार्य भइरहेको प्रहरीले बताएको छ । प्रहरीले बरामद नोट र घटना स्थल बारे रीतपुर्वक मुचुल्का गरेर पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कलैयामा ल्याएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

Leave a Reply