अनिल तिवारी
सिमरा, २२ भदौँ– प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रस्तावित क्षेत्रभित्र पर्ने टाँगियावस्ति जंगलमा डिभिजन वन कार्यालय सिमराले आइतवारसम्म ५४ हजार भन्दा बढी रुख र पोलको गणना गरेको छ ।
२ महिनाअघिबाट शुरु भएको गणना अन्तरगत हालसम्म करिब ५४ हजार रुख र पोलको गणना पुरा भएको डिभिजन वन कार्यालय सिमराका प्रमुख मञ्जुर अहमदले जानकारी दिनुभयो । निजगढस्थित पुर्वपश्चिम राजमार्गको बकैया पुलबाट दक्षिणतर्फ पश्चिममा पसाह नदीसम्म कोल्हवी र जितपुरसिमरा उपमहानगरपालिकामा पर्ने जंगलमा रुख गणना शुरु भएको हो ।
विमानस्थल निर्माणको क्रममा ठुलो संंख्यामा रुख काटिने र वन विनास हुने भन्दै केहीले आयोजनाको विरोध गर्न थालेपछि काटिने रुखको वास्तविक संख्या पत्ता लगाउन गणना थालिएको हो । वातावरणवादीको नाममा केहीले २५ लाख भन्दा बढी रुख काटिने दावी गर्दै आएका छन ।
यसै विषयलाई लिएर आयोजना विरुद्ध सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ । आयोजनाको प्रस्तावित ८ हजार ४५ हेक्टर क्षेत्रफल मध्ये १ हजार ९ सय हेक्टर क्षेत्रमा १२ वटा प्लट छुट्याएर पहिलो चरणमा २ सय हेक्टरमा रुख र पोलको गणना कार्य भइरहेको छ ।
जसमध्ये हालसम्म वन कार्यालयले १ सय हेक्टर क्षेत्रको रुख र पोलको गनणा सम्पन्न भइसकेको छ । वन प्राविधिकसहितको टोलीले ३२ सेन्टिमिटर भन्दा भन्दा बढी गोलाइ भएका सबै विरुवाको गणना गरिरहेको छ । प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटरको बिरुवालाई पोल र सो भन्दा बढी गोलाइ भए रुखको रुपमा गणना गर्ने गरिन्छ ।
राष्ट्रिय गौरवको आयोजनामा परेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन वन मन्त्रालय र प्रदेश नं २ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अनुमतिमा डिभिजन वन कार्यालयले गणना शुरु गरेको हो ।