निजगढ,निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सर्वोच्च अदालतले नेपाली जनताको अपेक्षा विपरीत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे फैसला गरेको बताउनुभएको छ । निजगढ सार्वजनिक सरोकार समितिले सोमवार निजगढमा आयोजना गरेको मानव साङ्गलो प्रर्दशनपछि शहिद चोकमा आयोजित कोण सभामा बोल्दै नगर प्रमुख पुरीले सो कुरा बताउनुभएको हो ।
अदालतले कुन ठाउँमा विकास गर्ने र नगर्ने भन्ने बारेमा फैसला गर्न नमिल्ने भन्दै उहाँले सर्वोच्चले गरेको असंवैधानिक फैसलाको विरोधमा जनता सडकमा आउन बाध्य भएको बताउनुभयो ।
नगर प्रमुख पुरीले विमानस्थलको निर्माणको लागि निजगढका जनताले सुरु गरेको आन्दोलनमा निजगढ नगरपालिकाको पूर्ण समर्थन रहेको भन्दै ऐक्यवद्धतासमेत जाहेर गर्नुभएको थियो । उहाँले आफू जनताबाट चुनिएर आएको र जनताको आन्दोलनमा सहभागी हुन कुनै समस्य नभएको पनि बताउनुभयो । नगर प्रमुख पुरीले आफूले पदभार ग्रहण गरेको दिनदेखि नै सर्वोच्चको आदेशको विरोधमा आवाज उठाउदै आएको पनि सुनाउनुभयो । ‘स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको साँझा धारणा तयार पार्न निजगढमा बैठक बोलाएको थिएँ, उहाँले भन्नुभयो, तर विमानस्थल निर्माण हुनुपर्छ भन्ने मान्यता राखेर पनि पालिकाका प्रमुखहरु उपस्थित हुन सक्नु भएन ।’ भर्खरै निर्वाचित भएर आएको र कार्यालमा कामको बोझ धेरै भएकोले उपस्थित हुन नसकेको उहाँको भनाइ थियो ।
उहाँले आफ्नै पहलमा कलैया उद्योग बाणिज्य संघले पनि विज्ञप्ति निकालेर विमानस्थल निर्माण नगर्ने अदालतको फैसलाको विरोध गरेको बताउनुभयो । स्थानीय तहमा निर्वाचित पालिका प्रमुख उपप्रमुखहरुको स्वागतमा कलैयामा बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा आफूले जिल्लाका सबै पालिकाबाट अदालतको निर्णय विरुद्ध साँझा धारणा बनाएर विज्ञप्ति निकाल्नु पर्ने कुरा उठाएको जानकारी दिनुभयो । ‘मैले कुरा उठाएपछि संघले विज्ञप्ति निकालेको छ, नगर प्रमुख पुरीले भन्नुभयो, विमानस्थल निर्माण गर्न भएको आन्दोलनमा सबैखालको सहयोग गर्न आफू तयार रहेको पनि बताउनुभयो ।
त्यसैगरी सभामा बोल्दै राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका पूर्वसदस्य विनोद भारतीले विमानस्थल निर्माण नगर्ने सर्वोच्चको आदेशको बारेमा सरकारको स्पष्ट धारणा माग गर्नुभयो । उहाँले देश विकासको विरुद्ध अदालतबाट यति ठुलो षडयन्त्र हुँदा पनि जनताको प्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सरकारका मन्त्री र प्रधानमन्त्रीले सामान्य प्रतिक्रियामात्रै दिएर मात्रै बसेका छन । ‘तर मुखले बोलेर मात्रै पुग्दैन, यसको बारेमा सरकार तत्काल स्पष्ट धारणासहित एक्शनमा उत्रिनुपर्छ ।’ भारतीले यसरी नै मौन बसेको खण्डमा जनता अदालतसंगै सरकारको विरोधमा पनि सडकमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो ।
विकास अभियन्ता पुण्य गौतमले निजगढ विमानस्थलसंगै निजगढबाट काठमाण्डौ जोडने छोटो दुरीको फास्टट्याक पनि बन्न नदिने खेल सुरु भएको बताउनुभयो । ‘विमानस्थल निर्माण हुन नदिने तत्व सफल भयो भने फास्टट्याक पनि बन्न दिदैनन, उहाँले भन्नुभयो, संसदबाट विषेश प्रस्ताव पास गरेर भएपनि विमानस्थल निर्माण गरिनुपर्छ ।’ देशको संवृद्धिको लागि निजगढ अन्तर्राष्ट्रि विमानस्थलको विकल्प नभएको पनि उहाँले बताउनुभयो ।
सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित शहिद चोकमा स्थानीयले मानव साङ्गलो प्रर्दशन गरेका हुन । सरोकार समितिको आह्वानमा निजगढस्थित पूर्वपश्चिम लोकमार्गको बुद्ध चोकदेखि निजगढ नगरपालिका कार्यालय जाने सडकको किनारामा उभिएर स्थानीयले मानव साङ्गलो प्रर्दशन गरेका थिए । कार्यक्रममा युवा, विद्यार्थी र सर्वसाधारणसहित हजारौंको सहभागिता रहेको थियो ।
यसैबीच अदालतको फैसला विरुद्ध डेढ सातादेखि आन्दोलनमा रहेको सरोकार समितिले मंगलवारबाट निजगढस्थित राजमार्गमा रिले अनशन सुरु गर्ने भएको छ । सोमवार निजगढमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै संयोजक एकबहादुर श्रेष्ठले सो कुराको जानकारी दिनुभएको हो ।