पुष्पराज खतिवडा

मनहर्वा,पूर्वपश्चिम लोकमार्गमा हुने दुर्घटना, लुटपाट, चोरी तस्करी नियन्त्रणमा तत्काल परिचालन हुन सक्ने गरी सशस्त्र प्रहरी वल नेपाल नम्बर ४० रिजर्भ गण हेर्डक्वाटर पिलुवाले आई.आर.टी.भवन निर्माण गरेको छ ।

पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को पिलुवा चोकमा तीनकोठे पक्की भवन निर्माण गरिएको हो । जोखिम समुहको तत्काल उद्धार र रक्षाका लागि राजमार्ग सुरक्षामा खटिने सुरक्षाकर्मीहरुको सहजताको लागि भवन निर्माण गरिएको रिर्जभ गण पिलुवाका गणपती एसपी मनोज थापाले जानकारी दिनुभयो ।

बाराको निजगढदेखि पथलैयासम्मको जंगल क्षेत्रमा पर्ने करिब २० किलोमिटर राजमार्ग क्षेत्रमा दैनिकजसो हुने दुर्घटना, वन तस्करी र अबैध गतिविधि नियन्त्रणमा २४ सैं घण्टा सशस्त्रले गस्ती गर्दै आएको एसपी थापाले बताउनुभयो । पोष्ट स्थापना भएपछि गस्ति कार्य थप प्रभावकारी हुने र दुर्घटना लगायत अपराधिक घटना नियन्त्रण र उद्धारमा सहज हुने उहाँले बताउनुभयो ।

पिलुवा चोकदेखि ८ सय मिटर दक्षिण रिजर्व गण छ तर घटना घटेको जानकारी पाउनासाथ तत्काल परिचालन हुन सुरक्षाकर्मीलाई समस्या हुँदै आएको र आगामी दिनमा राजमार्ग सुरक्षाको लागि आई.आर.टी. भ्यान, एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मी तैनाथी गरिने एसपी थापाले बताउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको ५ लाख सहयोग र सशस्त्र प्रहरी कर्मचारीहरुको जनश्रमदानमा करिब १५ लाख रुपैंयाको लागितमा भवन निर्माण सम्पन्न भएको गणपति थापाले जानकारी दिनुभयो ।

कलैया पिलुवा सडकखण्डसँगै जोडेर निर्माण गरिएको एकतले भवन निर्माणसँगै रंगरोगन, आँगनमा विभिन्न फुलका विरुवा सहितको सजावट, भवन वरिपरी क्षेत्रको सुरक्षाको लागि जाली लगाउने काम सशस्त्रले सकेको छ । केही दिनअघि जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरीले उक्त भवनको उद्घाटन गर्नुभएको थियो ।

सुरक्षा पोष्ट निर्माण भएपछि पूर्वपश्चिम लोकमार्ग हुँदै सदरमुकाम कलैया लगायत जिल्लाका भित्री गाउँ मनहर्वा, डुमरवाना, श्रीपुर, रामनगर महेन्द्रनगरलगायतका क्षेत्रमा दैनिक आवतजावत गर्ने हजारौं जनतालाई सहज भएको पिलुवाका समाजसेवी हरिदेव खरेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here