कलैया,समयमै पर्याप्त पानी नपरेकाले बारा जिल्लामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ पुरा भएको छ ।बारा कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्रप्रसाद यादवका अनुसार यो वर्ष जिल्लामा वर्षे भदैया, अगहनी गरी कूल ४६ हजार २० हेक्टर जमिनमा धान रोपाइँ गर्ने लक्ष्य लिएकोमा खडेरीले लक्ष्यअनुसार रोपाइँ गर्न नभ्याइएको उहाँले बताउनुभयो ।वर्षा नभएपछि किसानले भूमिगत सिँचाइ, गण्डक नहर, दमकल र पैनीको पानी प्रयोग गरेर रोपाइँ गर्दैआएको र यही साउन मसान्तसम्म शतप्रतिशत धान रोपाइँ हुने शंभावना रहेको उहाँले बताउनुभयो ।कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनाराणप्रसाद साहले यस वर्ष भदैया धान ११ हजार ९०५ हेक्टर र अगहनी धान ३४ हजार हेक्टर जमिनमा गरी कूल ४६ हजार २० हेक्टर जमिनमा वर्षे धान रोपाई हुनुपर्नेमा जिल्लाको निजगढ, कोल्हबी, डुमरवाना लगायत उत्तरी क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने दक्षिणी क्षेत्रमा केही मात्रामा धान रोपाइँ हुन बाँकी रहेको भएको बताउनुभयो ।आर्थिक वर्ष २०७९÷०८० मा भदैया ११ हजार ९०५ हेक्टर, अगहनी ३४ हजार ११२ हेक्टरसमेत गरी ४६ हजार २० हेक्टर जमिनमा वर्षे धानखेती गरिएको थियो ।




















