वीरगञ्ज,वीरगन्जको आदर्शनगरस्थित माँ दुर्गा रोड क्यारियर्समा प्रहरीले छापा मारेर भन्सार छलीका सामान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीसमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायव उपरीक्षक विश्वराज योन्जनको कमाण्डमा खटिएको टोली र वीरगञ्ज भन्सार कार्यालयबाट नायव सुब्बा बिष्णुप्रसाद चौधरीसहित खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर– १० आदर्शनगरस्थित माँ दुर्गा रोड क्यारियर्सको गोदाममा शनिवार छापा मारेको हो ।
विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी र भन्सार कार्मचारीहरुको संयुक्त टोलीले छापा मारेर भारतबाट अबैध रुपमा भन्सार छली ल्याएर गोदाममा भण्डारण गरि राखेको २० लाख २ हजार पाँचसय मूल्य बराबरको आलमण्ड, छोकडा, काजु, कपडा तथा मिटमसलाका सामानहरु बरामद गरेको सशस्त्र प्रहरीका प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।बरामद गरिएको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नम्बर १३ गण हेडक्वाटर पर्साले जनाएको छ ।



















