पुष्पराज खतिवडा
मनहर्वा, १८ साउन– मानमत–कलैया हुलाकी सडक निर्माणमा भएको लापर्वाहीले कलैया उपमहानगरपालिका–२४ स्थित श्रीपुर गाउँका ४० घर र गोठ डुवानमा परेका छन । डुवानका कारण घरमा बस्न नसक्ने भएपछि वस्तिका दुई दर्जन परिवार छिमेकी र आफन्तकोमा आश्रय लिदै आएका छन ।
दुई महिनायताको लगातार बर्षा र बाढीका कारण मानमत–कलैया सडकखण्डको श्रीपुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय पूर्वतर्फका ४० भन्दा बढी घर डुवानमा परेका हुन । लामो समयदेखिको डुवानका कारण सर्वसाधारणको दैनिकी असहज बनेको छ । मानमत–कलैया सडक खण्ड कालोपत्रेसहित पुनः निर्माण गर्ने क्रममा बर्षाको पानी निकास बन्द गरिएपछि डुवानको समस्या उत्पन्न भएको स्थानीयको भनाइ छ ।
बर्षाको पानी निकासकोलागि सडकमा राखिएको ह्युमपाइप हटाइएपछि वस्तिमा डुवानको समस्या उत्पन्न भएको हो । सडक निर्माणको क्रममा विद्यालय नजिकै सडकको मोडमा राखिएको हुयुमपाइप हटाइएको थियो । यसअघि सोही ह्युमपाइपमार्फत पश्चिमतर्फबाट आउने भल पानी बगेर श्रीपुर पैनीमा निकास हुन्थ्यो । तर सडक निर्माण गर्ने डि.एस. कन्ट्रक्सन हेटौंडाका प्राविधिकहरुले ह्युमपाइप हटाउन निकालेपछि निकास अभावमा वस्ति डुवानमा परेको स्थानीय हिरालाल चौधरी बताउनुभयो । ‘पहिलेदेखि राखिएको पाइपसमेत निकालेर हटाइ दिए, उहाँले भन्नुभयो, अहिले पानीको निकास बन्द भएर वस्ति नै डुवानमा पर्यो ।’ त्यसैगरी सडक पहिलेको भन्दा थप उचालिएकोले पनि डुवानको समस्या देखिएको चौधरीको भनाइ छ ।
सडकका कारण घर डुवानमा परेपछि पिडितहरु एक सातादेखि अर्काको घरमा बस्दै आएको अर्का स्थानीय नन्दलाल चौधरी बताउनुहुन्छ । ‘कतिपय अर्काकै घरमा खाना बनाएर खान्छन र सुत्ने बेला रातिमात्रै घरमा आउछन, उहाले भन्नुभयो, धेरै त् घरभित्रै जमेको पानीमा खाट राखेर सुत्ने गरेका छन ।’ वस्तिका अधिकांशको घरभित्र घुँडामाथिसम्म पानी जमेको र अन्नपात, लत्ताकपडा, भाँडाबर्तन सबै नष्ट भएको चौधरीले बताउनुभयो । उहाँले वस्तिको चारैतर्फ जमेको पानीले स्थानीयलाई बाहिरफेर निस्कन समस्या परेको र सर्प, बिच्छी जस्ता किराले टोक्न सक्ने डर बढेको बताउनुभयो ।
डुवानबाट श्रीपुर चौधरी टोलका सत्यनारायण चौधरी, रामबाबु चौधरी, जयश्री अधिकारी थारु, बलिराम अधिकारी, महिन्द्रर अधिकारी, देवधारी अधिकारी, पाँचु अधिकारी लगायत ४० बढी परिवार प्रभावित बनेका छन । सोही गाउँको दलित वस्तिसमेत डुवानबाट प्रभावित बनेको छ । सडक निर्माणका क्रममा सो स्थानको ह्युमपाइप निकालेपछि कल्भर्ट निर्माण गरिदिन स्थानीयले निर्माण कम्पनीसंग माग राखेका थिए । तर कम्पनीले नमानेको स्थानीयको भनाइ छ । ‘धेरै पटक अनुरोध गरियो, तर मानेनन,’ अर्का स्थानीय राजेन्द्र गिरीले सुनाउनुभयो ।
केही स्थानीयले निर्माण कम्पनीलाई दवाव दिन भनेर कल्भर्ट निर्माण नभएसम्म सडकको काममा अवरोध गर्ने योजना पनि बनाएका थिए । तर यस विषयमा गाउँलेबीच नै एकमत हुन नसकेपछि कल्भर्टबीना नै सडक निर्माण गरिएको हो । डुवानमा पर्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय कलैया र निर्माण कम्पनीको कार्यालयमासमेत पुगेर आफुहरुले निवेदन दर्ता गराएको तर आश्वासन दिएर पनि कलभर्ट निर्माण नभएको गिरीले बताउनुभयो ।
लामो समयदेखि डुवानमा परेर बिचल्लीमा परेका पिडित स्थानीयको उद्धार र सहयोगमा स्थानीय सरकार भनिएको कलैया उपमहानगरपालिकाका कार्यालयलेसमेत चासो नदेखाएपछि स्थानीयले गुनासो गरेका छन ।