वीरगञ्ज,मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत पर्साले आदेश दिएको छ । विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा आज थुनछेक आदेश भएको हो । पर्साका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उहाँलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।यसअघि सर्वोच्च अदालतले पनि प्रसाईंलाई अब थप हिरासतमा नराख्न र थपिएको म्यादभित्रै अनुसन्धान टुंग्याउन र नटुंगिए पनि हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यो म्याद आइतबार सकिएको थियो । म्याद सकिएको भोलिपल्ट आज प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो ।

नागरिक बचाउ अभियानका अध्यक्ष समेत रहेका प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले जेठ ४ गते पक्राउ गरेको थियो । आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दै उहाँको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले प्रसाईंको रिट खारेज गर्दै अब म्याद थप नगर्न सरकारका नाममा परमादेश दिएका थिए । वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर उहाँमाथि साइबर अपराध र राज्यविरुद्धको कसुरमा जरुरी पक्राउ पुर्जी दिएर प्रसाईंलाई पक्राउ गरेको थियो ।

Leave a Reply