सिमरा,मधेस प्रदेश सरकारले यातायात राजस्व वृद्धिका लागि भदौ १ गतेदेखि बाराको जीतपुरसिमरा २ स्थित पथलैयामा सवारी साधनलाई रुट परमिट र पटके सेवा दिने कार्यालय स्थापना गर्ने भएको छ ।पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनले रुट परमिट र पटके सेवा लिन वीरगञ्ज जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷०८१ को बजेट वक्तव्यमार्फत् पथलैयामा कार्यालय सञ्चालन गर्ने घोषणा गरेको थियो ।पथलैयामा आगामी साउन महिनाभित्र रुट परमिट सेवा केन्द्र कार्यालय र कर्मचारी व्यवस्थापन गरी भदौ १ गतेदेखि कार्यालय सञ्चालनमा ल्याउँने प्रदेश सचिव प्रेमप्रसाद भट्टराईले बताउनुभयो । सवारी साधनलाई कर तिर्न सहज होस र राजश्व संकलनमा वृद्धि गर्नका लागि पथलैयामा कार्यालय सञ्चालन गरिन लागेको उहाँको भनाइ छ ।गत जेठमा मुख्यमन्त्री सरोजकुमार यादव, संघीय सांसद किसान श्रेष्ठ, प्रदेश मन्त्रालयका सचिव, सह–सचिवसहितको टोलीले पथलैयाको स्थलगत अवलोकनपछि उक्त स्थानमा कार्यालय राख्ने निर्णय गरेको सचिव भट्टराईले जानकारी दिनुभयो ।अहिले तत्कालको लागि रुट परमिट सेवा दिने र केही समयपछि सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण लगायतका सेवा पनि थप गर्दै लैजाने उहाँले बताउनुभयो ।प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत पथलैयास्थित तालिम केन्द्रका प्रयोगविहीन आठ वटा खाली भवनमध्ये एउटामा परमिट र पटके सेवा तथा राजस्व संकलन केन्द्र सञ्चालन हुने जनाइएको छ ।तराई यातायात व्यवसायी संघ सिमराका कोषाध्यक्ष रमेश घिमिरेले पूर्वपश्चिम राजमार्गमा चल्ने सवारी साधनलाई रुट परमिट बिनै चलाउँदा हुने दुर्घटनाको जोखिम बिमा कम्पनीले बहन नगर्ने हुँदा व्यवसायी मारमा पर्ने गरेको बताउनुभयो । उहाँले पथलैयामा यातायात कार्यालयको सेवा केन्द्र सञ्चालन आउँदा खेर गइरहेको दैनिक लाखौं रुपैयाँ राजस्व उठने तथा रुट परमिट नहँुदा ट्राफिक र सवारी साधनबीचको कानुनविपरीत लेनदेनको प्रचलन मधेसमा रोकिने समेत दाबी गर्नुभयो ।यसअघि तराई यातायात व्यवसायी संघकै पहलमा यातायात सम्बद्ध अन्य संघ संस्थाले समेत व्यवसायीको सहजताका लागि परमिट केन्द्र पथलैयामा राख्न माग गर्दैआएका थिए ।



















