पुष्पराज खतिवडा
बारा, ६ साउन– अविरल बर्षासँगै जिल्ला विभिन्न नदी, खहरे र पैनीमा आएको बाढीले डुवान र नदी कटान तिव्र पारेपछि बारा जिल्लाको जनजीवन प्रभावित भएको छ । जिल्लाको पसाह, बालगंगा, दुधौरा तथा लालबकैया खोलामा आएको बाढीले जितपुरसिमरा, कलैया उपमहानगरपालिका, निजगढ र कोल्हवी नगरपालिकाकालगायत विभिन्न स्थानका सयौं घर र हजारौं विगाह धान बाली डुवान र कटान गरेपछि जनजीवन प्रभावित बनेको हो ।
जितपुरसिमरा उपमहानगरपालिका १६ धर्मनगर नजिकैबाट बालगंगा खोलाको बाढी पस्दा सोहीे वडा नं. १८ बडहर्वाका दर्जनौं घर डुवानमा परेका छन् । उक्त क्षेत्रमा हजारौं विगाहमा लगाइएको धानबाली नष्ट भएको छ । बाढीले बडहर्वा चोकमा रहेको संझना होटल, आशा श्रेष्ठ, रंजित राउत कुर्मी, शेर बहादुर लामा, विनिल अधिकारी, शान्ती कुर्मीन, शान्ती थापा, सविना थापा, रितु ठकुरीलगायत दर्जनौंको घर डुवानमा परेको छ । यस्तै वाढीले बडहर्वा खेल मैदान, मौवादेवी मन्दिर क्षेत्रसमेत डुवानमा परेको छ ।
बालगंगा खोलामा आएको वाढीले सिमरा बडहर्वा सडक अवरुद्ध बनेको छ । यस्तै कलैया नगरपालिका २४ को सखुईमा चार विगाह भन्दा बढी क्षेत्रको धानबालीमा क्षेति पुगेको स्थानीय प्रेम यादवले बताउनुभयो । बाढीको पानी पसेपछि किसानहरुको पाक्नेबेला भएको धान बाली नष्ट भएको उहाले जानकारी दिनुभयो । हालसम्म बाढीले जिल्लामा कुनै किसिमको मानवीय क्षेति नगरेको भएपनि अन्नबाली, खाधान्न, लत्ताकपडा बगाउँदा समस्या भएको स्थानीयले बताएका छन । जितपुरसिमरा १८ बडहर्वाकी शान्ति कुर्मीको फुसको घर डुब्दा अन्नपात, कपडा, भांडा÷बर्तन बाढीले बगाएको छ । हाल उनको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्दै आएको छ ।
त्यसैगरी निर्माणाधिन पुलका कारण बालगंगा खोलाले धार बदलेपछि बाढी बस्तीमा पसेको स्थानीयले बताएका छन । पक्की पुलको निर्माण कार्य समयमै पुरा हुन नसक्दा वस्तिमा बाढीको जोखिम बढेको हो । तीन बर्षमा पुरा गरिसक्न्ु पर्ने सो पुलको निर्माण कार्य हाल ४ बर्ष बित्नै लाग्दासमेत सम्पन्न भएको छैन । आश्रे निर्माण कम्पनीको ढिलासुस्ती र लापरवाहीले बालगंगा नदीको बाढी गाउँ पसेको बडहर्वाका स्थानीय भरत सुवालले बताउनुभयो ।
यस्तै पसाहखोलमा आएको बाढीले कलैया उपमहानगरपालिका २१ को भोडाहा, १६ को सोनरनिया क्षेत्रमा लागाइएको सय विगाह बढी धानबालीमासमेत क्षेति पुगेको कलैया उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष पुनदेव प्रसाद रौनियारले बताउनुभयो । त्यसैगरी विभिन्न खोला र पैनीमा आएको बाढीले जिल्लाको महानगढीमाई नगरपालिका, प्रसौनी गाउँपालिका, करैयामाई गाउँपालिका, कोल्हवी नगरपालिकालगायतका पालिकामा पनि क्षेति पुगेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडितले बताउनुभयो ।