कृपा संवाददाता
कोल्हवी– बाराको कोल्हवी नगरपालिकाले लगाएको ठेक्कामा हुलहुज्जत गरेर कागजपत्र च्यात्ने चार जना वडा अध्यक्षलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा लिएर आइतबार छोडेको छ । नगरपालिकाले लगाएको पटके सवारी कर र सार्वजनिक बजारको ठेक्का दर्ता गर्न कार्यालयमा आएका व्यवसायीहरुलाई रोकेर वडा अध्यक्षहरुले फारम च्यात्ने र दर्ता गर्न अवरोध गरेपछि प्रहरीले उनीहरुलाई दिउसो १२ बजे नियन्त्रणमा लिएको थियो ।
कोल्हवी नगरपालिकाको कार्यापालिकामा नेपाली काँग्रेस पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुको बहुमत रहेको र उनीहरुले ठेक्कामा अवरोध गरेर टेण्डर बिथोल्न खोजेपछि ईलाका प्रहरी कार्यालय कोल्हवीको टोलीले नियन्त्रणमा लिई हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपाली काँग्रेसबाट निर्वाचित भएका वडा नम्बर १ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किसुन दयाल चौधरी, वडा नम्बर ५ का वडा अध्यक्ष बासु प्रसाद चौधरी तथा वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर चौधरीले टेण्डर दर्ता गराउन अवरोध गरेकोले प्रहरीले हिरासतमा लिनु परेको प्रहरीले बताएको छ । आपसी छलफल गरेर नियमसंगत तरिकाले समस्याको समाधान खोज्ने सहमति भएपछि उनीहरुलाई छाडिएको थियो ।