नेपालमा सरकारले अरू १५ दिनसम्म लकडाउन थपेको छ। कोभिड १९ को विश्वव्यापी महामारी निर्मूल होइन नियन्त्रण गर्न सर्वोत्कृष्ट उपाय लकडाउन नै हो, यसको विकल्प छैन। लकडाउन बढेसँगै कोरोना संक्रमण पनि बढ्दोछ।
संक्रमित संख्या तीन सय नाघिसकेको छ भने दुईजनाको मृत्यु भइसकेको छ। अबका दिन अझ भयावह हुने अहिलेको अवस्थाले देखाइसकेको छ। यता सरकारले भने लकडाउन गर्नेबाहेक अरू काम खासै गरेको देखिँदैन। लकडाउन गरेर सरकार आफ्नो दायित्व पूरा भएको सम्झन्छ।
यस्तै महासंकट र आपत्का बेला हो सरकारले आफ्नो खुबी देखाउने( व्यवस्थापकीय कौशल, जनताप्रतिको लगाव र समर्पण, नागरिकप्रतिको कर्तव्य आदि। यो महामारीको पहिलो माग थियो। पर्याप्त परीक्षण। संक्रमण कत्तिको विस्तीर्ण भएको छ भन्ने परीक्षण नगरी थाहा हुँदैन। यता परीक्षण नगर्ने, अनि कोरोना संक्रमण नियन्त्रित छ, मान्छे मरेका छैनन् भनेर सरकारले जस लिने कमजोर हर्कत पनि भए।
महामारी सुरु भएदेखि नै आवश्यक स्वास्थ्य उपकरण खरिद गरेर पूर्वतयारी गर्नुपर्दथ्यो जुन हुन सकेको छैन । मुलुकमा संक्रमण प्रवेश भइसक्दा पनि स्वास्थ्य उपकरणको बन्दोबस्त गरिएन। नगरिएको प्रष्ट कारण थियो( भ्रष्टाचार। सत्ताका रहेका पात्रहरूको संलग्नता रहेको ओम्नी समूहलाई बिनाप्रतिस्पर्धा ठेक्का दिनकै लागि अरू परेका ठेक्का प्रस्तावलाई अठ्याइएको थियो। यस्तो बेलामा पनि भ्रष्टाचार गर्न नछाड्नेहरूले जनताको आपत्मा साथ नदिनु अस्वाभाविक होइन। त्यही भएर अहिले लथालिंग अवस्था आएको हो।