वीरगन्ज,वीरगन्ज महानगरसहित पर्सा जिल्लामा केहि दिनयता चापाकल लगायतका खानेपानीका श्रोतहरु सुकेर हाहाकार भएपछि जनमत पार्टीका महिलाहरुले बुधवार वीरगञ्जमा प्रदर्शन गरेका छन् ।जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा घण्टाघर चोकस्थित सडकमा खाली गाग्री र बाल्टिन बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

‘जल सत्याग्रह’ नारा लेखिएको ब्यानरसहित सडक प्रदर्शनमा उत्रिएकाहरुले खानेपानीको संकट समाधानका लागि तिन वटै तहका सरकारसंग माग पनि गरेका छन ।प्रर्दशनमा सहभागीहरुले तिनै तहको सरकार आँखा खोल, पानी दे कि मारी दे, पर्सालाई पानी संकटग्रस्त क्षेत्र घोषणा गर’ जस्ता नारा पनि लगाएका थिए ।प्रदर्शनमा सहभागी जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगञ्ज महानगरका साथै पर्सा जिल्लाका विभिन्न पालिकामा अहिले चापाकलहरु सुकेर स्थानीयले पिउने पानीको त्राहीमाम बेहोर्नुपर्दा पनि संघ, प्रदेश र स्थानीय सरकारले ध्यान नदिएकाले बाध्य भएर सडकमा उत्रिनु परेको बताउनुभयो ।

वीरगञ्जममा अघिल्लो ३ वर्षदेखि सुख्खा याममा निरन्तर खानेपानीको संकट हुदैं आएपनि सरकारले दीर्घकालीन समाधानका लागि ध्यान नदिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तिन वटै तहका सरकार अन्धो, बहिरो भएर वीरगञ्जलाई अपहेलित गरिरहेका छन् । वीरगञ्जका मान्छेलाई पानी बिना मार्ने प्रयास गरिरहेको छ । तसर्थ तिन तहकै सरकार गम्भीर भएर वीरगञ्जलाई पानी संकटग्रस्त क्षेत्र घोषणा गरी तत्काल विशेष प्याकेजमार्फत पानीको समस्या समाधान गरोस् ।’मधेस प्रदेशमा आफ्नै पार्टीको सरकार भएको भन्दै उहाँले पानीको समस्या समधान नगरिए आँफूहरुले मुख्यमन्त्रीको कार्यालय जनकपुरधाममा पनि घेराउ गर्ने चेतावनी उहाँले दिनुभयो ।

यो वर्ष पनि गर्मी याम सुरु भएसंगै वीरगञ्ज महानगरका सबै वडा तथा पर्सा जिल्लाका विभिन्न पालिकामा खानेपानीको लागि जडान गरिएका चापकलहरु सकेपछि स्थानीयको जनजीवन अस्तव्यस्त बनेको छ ।संघीय सरकारको खानेपानी मन्त्रालय र वीरगञ्ज महानगरपालिकाको कार्यालयले वीरगञ्जका विभिन्न वडामा डिप बोरिङहरु जडान गरेर पानी आपुर्तिको प्रबन्ध मिलाउदै आएको भए पनि समस्या पानीको माग पूरा भएको छैन ।यसैबीच वीरगन्ज महानगरपालिकाले खानेपानीको ट्यांकरमा पानी ओसाररेर संकटग्रस्त वडाहरुमा खानेपानी वितरण गर्न थालेको छ । यसबाहेक टोल टोलमा २ हजार, ५ हजार र १० हजार लिटर क्षमताका खानेपानी ट्यांकी जडान गरेर पनि महानगरपालिकाले पानीको आपुर्तिको व्यवस्था मिलाएको जनाएको छ ।
मन्त्री यादवद्वारा सहयोगकोलागि आग्रह
वीरगञ्ज,खानेपानी मन्त्री प्रदीप यादवले पर्सा, बारा, रौतहटलगायत तराई–मधेसका जिल्लामा चापाकल सुकेर उत्पन्न खानेपानी सङ्कट समाधानका लागि सबै पक्षसँग सहयोग र समन्वयको आग्रह गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण देखिएको खडेरीले पर्सा, बारा, रौतहट लगायतका जिल्लामा चापाकल सुक्दा जनजीवन प्रभावित भएको भन्दै मन्त्री यादवले सामाजिक सञ्जालमार्फत सहानुभूति प्रकट गर्नुका साथै समस्या समाधानका लागि सक्रिय पहल भइरहेको बताउनुभएको हो ।मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित वडा, टोल र घर–घरमा पुगेर स्थलगत अनुगमन गरिरहेका छन् । “यस प्राकृतिक विपत्तिमा पीडित नागरिकप्रति सहानुभूति प्रकट गर्दै म वीरगञ्जका प्रभावित क्षेत्रहरूको अनुगमन गरिरहेको छु,” उहाँले भन्नुभयो, “खानेपानी समस्याको तत्कालीन समाधानका लागि पर्सा, बारा र वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा हालसम्म २३७ भन्दा बढी डिप बोरिङ जडान गरिसकिएको छ । थप पहल जारी छ ।”

आगामी आर्थिक वर्षको सुरुआतसँगै खानेपानी समस्याको समाधानलाई तीव्र दिइने मन्त्री यादवले बताउनुभयो । यसले प्रभावित क्षेत्रका बासिन्दालाई तत्काल राहत प्रदान गर्ने उहाँको विश्वास छ ।खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि वीरगञ्जमा एसियाली विकास बैंकको सहयोगमा चार अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना सञ्चालन भइरहेको मन्त्री यादवले जानकारी दिनुभयो । आयोजनाले खानेपानीको दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।मन्त्री यादवले कठिन परिस्थितिमा धैर्य र संयम अपनाउन स्थानीय बासिन्दालाई आग्रह गर्नुभएको छ । उहाँले प्रदेश र स्थानीय सरकार, खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरूलाई सहकार्य र सहयोगका लागि अपिल गर्नुभएको हो । “सबैको सहयोग र समन्वयले हामी यो समस्याको समाधान खोज्न सफल हुनेछौँ,” उहाँले भन्नुभयो ।

Leave a Reply