अनिल तिवारी
सिमरा, ३० फागुन । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सिमरामा बनाउने भनिएको भवनको कामले गति लिन नसकेको प्रति संघका केहि पदाधिकारीहरुले आपती जनाएका छन् । जीतपुरको भवन निर्माणको काम शुरु हुनु अगावै सिमराको भवन बनाउने भनी शिलान्यास गरीए तापनि सिमरामा बन्ने भवनको कामले गति लिन नसकेपश्चात संघका सदस्यहरुले आपती जनाएका हुन् ।
संघका अध्यक्ष संजयकुमार साहकै कमिकमजोरीका कारण सिमरामा बन्ने भनिएको भवनको काम शुरु हुन नसकेको सदस्यहरुको भनाई छ । जीतपुरमा निर्माण हुदैँ गरेको भवनको विषयमा सबैको सहमती हुने तर सिमरामा बनाउने भनीएको भवनको विषयमा सहमती हुन नसकेको या अनेक बहाना बनाएर अध्यक्ष साहले काम शुरु नगराएको प्रति उहाँहरुले आपती जनाउनुभएको हो ।
नाम नबताउँने शर्तमा एक सदस्यले भन्नुभयो “संघका अध्यक्ष साहले जीतपुरको भवन शिलन्यासको समय सिमरामा बन्ने भवनको कामपनि संग–संगै अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभएपनि त्यस अनुसार काम हुन नसक्नुले उहाँको सिमरामा बन्ने भवनको काम गराउने मानसिक्ता प्रति शंका देखियो, अध्यक्षले सबैलाई मिलाएर हिड्नु पर्ने थियो तर उहाँ सक्नु भएन् ।”
जीतपुर र सिमरामा फरक फरक रहेका उद्योग वाणिज्य संघलाई एकीकरण गरी बनेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा हाल जीतपुर र सिमराका पदाधिकारी बिच मानसिक ध्रुवीकरण देखिएको छ । यसै विषयमा संघका अध्यक्ष साहसंग बुझदा आफुँ सिमराको भवन बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले भवन निर्माण गर्न बालुवा, गिट्टी र डन्डी ल्याइसकिएको जानकारी दिनुभयो ।
केहि कागजी प्रकृया मिलाउनु पर्ने भएकोले निर्माण काममा ढिलाई भएको अध्यक्ष साहको भनाई छ । वडाबाट चारकिला प्रमाणीत लगाएत नक्साको कामले गर्दा लम्बिएको भएपनि अब केहि समय भित्रमा नै निर्माण कार्यले गति लिने उहाँले जानकारी दिनुभयो ।
२०७६ असार मसान्तमा शिलान्यास भएको सिमराको भनवको काम शुरु नहुदैँ २०७६ पौषमा जीतपुरमा भवन निर्माणको शिलान्यास गरी निर्माण कार्य अगाडी बढाइएको थियो । हाल करिब २५ लाखको खर्चमा जीतपुरमा बन्दै गरेको भनवको काम ढलान भएको छ भने अरु काम हुने क्रम जारी रहेको संघका अध्यक्ष साहले जानकारी दिनुभयो ।