मुलुक कृषि प्रधान देश हो तर किसानको अवस्थामा सुधार आउन सकेको छैन । सरकारलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई बलियो बनाउनुपर्छ । कृषिप्रधान देश भएर पनि नेपालले कृषिजन्य वस्तु आयातमै ठूलो धनराशि बाहिरिने गरेको छ । कृषि क्षेत्रको समृद्धिका लागि धेरै कार्यक्रम बने । हरेक सरकार परिवर्तनसंगै नारा र भाषण पनि फेरिए ।तर नारा र भाषणजस्तो कृषि क्षेत्रमा परिवर्तन हुन सकेको छैन । सरकारले कृषकहरूलाई वितरण गर्ने अनुदान पनि वास्तविक किसानहरूसम्म नपुग्ने पुरानै रोग यथावत नै छ । कृषकको नाममा अहिले पनि विचौलियाहरूले धन्दा चलाउंदै आएको देखिन्छ ।
किसानहरू विभिन्न समस्याहरूसंग जुध्दै खाएका छन् । अहिले पनि किसानहरू वर्षौंदेखि आफूले पाउनुपर्ने उखुको मूल्य नपाएर आन्दोलनसम्म गर्नुपर्ने अवस्थामा छन् । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिए पनि वास्तविक किसानसमक्ष लक्षित योजना र कार्यक्रम भने अझै पुग्न सकेको छैन । किसानहरू कहिले आफूले लगाएको तरकारीको मूल्य नपाएर छटपटाउनुपर्ने बाध्यता खेप्दै आएका छन् ।
किसानहरू हरकिसिमका समस्यासंग लड्दै आएका छन् । कहिले धानमा बाला नलागेर कृषकहरू आन्दोलित हुनुपर्ने अवस्था छ त कहिले मकैमा घोगा नलागेर चिन्तित हुनेगरेका छन् । कृषि मन्त्रालयअन्तर्गत रहेका विभाग र कार्यालयहरूले बेवास्ता र लापरबाही गर्दा त्यसको सास्ती किसानहरूले खेप्न बाध्य छन् । वर्षभरि दुःख गरेर फल दिने बेला दाना नलाग्ने समस्या किसानहरूले लामो समयदेखि झेल्दै आएका छन् । अहिले बाराका कृषकहरुले मकैंमा दाना नलाग्ने लगायतका समस्या झेल्न परेको छ । यो पुरानो समस्या पनि होइन चर खोइ त किसानको दिन आएको ?