सवारी र चालक अनुमति पत्र अब नागरिकहरुका लागि अपरिहार्य जस्तै भइसकेका छन् । तर सवारी चालक अनुमति पत्रका लागि नागरिकहरुले निकै सास्ती झेल्न परेको छ ।यस्तैमा यातायात व्यवस्था कार्यालय कलैयाले बैशाख १७ गतेदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण कार्य औपचारिक रूपमा सुरु गरेको जनाएको छ ।जिल्लावासीका लागि यो सुखद खबर हो । यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण तथा प्रतिलिपि सम्बन्धी स्मार्ट कार्डहरू वितरण गर्न थालिएको हो । लामो समयदेखि रसिदको भरमा सवारी चलाउन बाध्य बारा र आसपासका सेवाग्राहीहरूका लागि यसले ठूलो राहत पु¥याउने अपेक्षा गरिएको छ ।

विशेषतः सेवाग्राहीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै कार्यालयले विशेष व्यवस्था समेत गरेको छ । बिदाका दिनहरूमा पनि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काउन्टरहरू खुला रहने निर्णयले सबैको मनलाई हर्षित बनाइदिएको छ । स्मार्ट कार्ड प्राप्त गर्नका लागि सेवाग्राहीहरू स्वयं उपस्थित हुनुपर्ने प्रावधान राखिएको छ । कार्ड लिन आउँदा आफ्नो पुरानो लाइसेन्स (यदि भएमा) वा राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउन कार्यालयले अनुरोध गरेको छ ।

विभागबाट ठूलो सङ्ख्यामा कार्डहरू प्राप्त भएकाले क्रमशः सबै सेवाग्राहीलाई वितरण गरिने योजना रहेको र धैर्यता अपनाउन समेत कार्यालयले आग्रह गरेको छ ।यसबाट जिल्लावासीहरुले बेहोर्दै आएको सास्ती अब कम हुने अपेक्षा गरिएको छ ।लाइसेन्सका लागि अब जिल्लावासीले समस्या झेल्न कहिल्यै नपरोस् यो विषयमा जिल्लाका सरोकारवलाहरुले ध्यान दिएर नीति बनाए सबैका लागि आहा हुनेछ ।

 

Leave a Reply