वीरगन्ज,यो सिजनमा लगाइएको धानबालीमा युरिया मल हाल्ने बेलामा युरिया मलको फेरि पनि अभाव भएको छ । मल अभावले किसानहरु समस्यामा परेका बेला कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जले आइतबारदेखि मलको बिक्री वितरण बन्द गरिदिएको छ । यसले गर्दा किसानहरु झन् धेरै समस्यामा परेका छन् ।

कृषि सामग्री कम्पनिको प्रादेशिक कार्यालय वीरगन्जले आइतबार एक सूचना नै निकालेर कार्यालयमा हाल युरिया र डिएपी मलको मौज्दात सकिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि मलको बिक्री वितरण र परिचालन बन्द गरिएको जनाएको छ । कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख गोरखनाथ केसीले कार्यालयमा अहिले युरिया र डिएपी मल सकिएको र थप मल प्राप्त हुने अनिश्चित भएकाले आइतबारदेखि मलको बिक्री वितरण र परिचालन बन्द गरिएको बताउनुभयो ।

कृषि सामग्री कम्पनीले नै मलको बिक्री बन्द गरेपछि धानबाली लगाएका किसानहरु थप पिडामा परेका छन् । पर्सा जिल्लामा विगत ३ हप्तादेखि युरिया मलको चर्को अभाव थियो । त्यहि मौका छोपेर महङगो भाउमा मल बिक्री गरिरहेका व्यपारीहरुले अब झन धेरै मुल्य थपेर मनोमानी गर्ने अवसर पाएका छन् । जसका कारण किसानहरु थप पिडामा परेका हुन् ।

सरकारले युरिया मलको अधिकतम बिक्री मुल्य प्रतिबोरा ८ सय ५० रुपैया र डिएपी मलको मुल्य अधिकतम प्रतिबोरा २ हजार २ सय रुपैया तोकेको छ । तर व्यपारीहरुले भने युरिया मल अहिले १ हजार ३ सय रुपैयामा र डिएपी मल ३ हजार रुपैयामा बिक्री गरेर किसानलाइ ठग्दै आएका छन् । मल वितरण र बिक्रीको अनुगमनको जिम्मा पाएका पालिकाहरुले पनि अनुगमन नगरिदिदा मलको कालाबजारी गर्ने व्यपारीहरुको मनोबल झन धेरै बढेको छ ।

कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख केसीले २०÷२५ दिनपछि मात्रै कार्यालयमा युरिया र डिएपी मल आइपुग्ने र त्यसपछि मात्रै फेरि मलको बिक्री वितरण सुचारु हुने बताउनुभयो । विदेशबाट खरिद गरिएको ३० हजार मेट्रिक टन युरिया मल अहिले सामुन्द्रिक मार्गमै रहेको भन्दै केसीले उक्त मल ४÷५ दिनपछि कलकत्ता बन्दरगाहमा आइपुग्ने र त्यहाँबाट रेलमार्ग हुदै सिर्सिया सुख्खा बन्दरगाहमा आउन कम्तिमा पनि २० दिन लाग्ने बताउनुभयो । यस्तै सरकारले खरिद गरेको २५ हजार मेट्रिक टन डिएपि मल पनि १ महिनापछि मात्रै वीरगन्ज आइपुग्ने केसीले बताउनुभयो ।

Leave a Reply