निजगढ,सेवा गुणस्तरीय नहुँदा नेपाल टेलिकमको प्रयोगकर्ता घट्दै गएका छन् । सरकारले विभिन्न योजना र फोर जी, फाईव जीको घोषणा गरे पनि काम भने सो अनुरुप नहुँदा सेवा लिनेहरु नेपाल टेलिकमको विकल्पमा निजी कम्पनीहरुतर्फ आकर्षित हुँदै गएका छन् ।
सरकारले फाईभर टु द होम एफटिटिएच बिस्तार गर्ने भनी झण्डै पाँच वर्षअघि ल्याएको योजना अहिलेसम्म प्रदेश नम्बर २ मा १० प्रतिशत समेत बिस्तार हुँन सकेको छैन । नेपाल टेलिकम कार्यालय निजगढका कार्यालय प्रमुख जगतलाल चौधरीले प्रयोगकर्ता घट्दै गएको स्वीकार गर्दै निजगढ आफ्नों क्षेत्रमा शुरुमा कुल ५ सय १२ टेलिफोन फुल क्यापिसिटी बराबरको सञ्चालनमा भए पनि हाल ४ सय ६९ मा रहेको बताउनुभयो ।
त्यसैगरी २ सय ५६ एडिएसल फुल क्यापिसिटीमा सञ्चालन हुँदै आएकोमा हाल करिब १ सय ५० मा झरेको पनि उहाँले जानकारी गराउनुभयएको छ । निजगढको ठुलो जनसंख्या भएको बागदेब क्षेत्रमा टेलिकमको तार हावाहुरीले झारेको झण्डै ७ वर्ष बितिसकेपछि दुई दिनअघि टेलिकम कर्मचारीले उठाए पनि फाईबर तार जडान गर्न अझै कति वर्ष कुर्नु पर्ने हो ठेगान नभएको स्थानीय हरी अधिकारीले बताउनुभयो । उहाँले अहिले एउटै घरमा दुई–तिन वटा ईन्टरनेट छन्, तर टेलिकमले सेवा दिन नसक्दा निजी कम्पनीहरुले मनपरी रकम असुल्दै आएका बताउनुभयो । त्यस्तै निजगढ सडकटोलदेखि बागदेब जाने सडकको दाँयाबाँया बाक्लो बस्तीमा नेपाल टेलिकमको मोबाईल टावर नहुँदा उपभोक्ताहरु बिस्तारै एनसेलतर्फ आकर्षित भएको उहाँले बताउनुभयो ।
नेपाल टेलिकमका कर्मचारीको मिलोमतोमा निजी ईन्टरनेट र एनसेलका प्रयोगकर्ता बढेको भन्दै अर्का स्थानीय सुनिल सापकोटाले होइन भने तार काटिएको ७ वर्षसम्म पनि टेलिकमका कर्मचारीले किन आँखामा पट्टी र कानमा तेल हालेर बसेका हुन भन्नुभयो । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय वीरगन्जका कर्मचारीले भने बिगत १० वर्षदेखि राजमार्ग विस्तारले तार र पोल पुनः हाल्नु पर्ने भएकोले पनि सेवा विस्तार र सुदृढीकरणमा ढिलाई गरेको हुँन सक्ने कर्मचारीले बताएका छन । नेपाल टेलिकमका क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख उमेशप्रसाद साहले आँफु भर्खरै सरुवा भइ आएको भएपनि फोर जी र फाईवर विस्तारमा बिशेष रुपमा काम अघि बढाएको बताउनुभयो ।
टेलिकमको क्षेत्र ठुलो भएकोले कपर विस्तापित गरी पूर्णफाईबर सञ्जाल विस्तारमा काम अघि बढेको भएपनि सार्वजनिक खरिद ऐनले गर्दा सामग्री खरिद गरेर ल्याउन ढिलाई भएकोले काममा केही बिलम्ब भएको हुनसक्ने उहाँले बताउनुभयो । प्रम्ुख साहले केही महिनाभित्र प्रदेश नम्बर २ का आठ वटै जिल्लामा तीव्र रुपले काम अघि बढ्ने पनि बताउनुभयो । उहाँले फाईबर विस्तार भएका क्षेत्रमा टेलिकमको प्रयोगकर्ता पनि बढेको बताउनुभएको छ ।