दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको गढीमाई मन्दिरमा भक्तजनहरुले चढाएको भेटी गणना कार्य पुरा भएको छ ।
मन्दिर परिसरमा राखिएको दानपेटिकामा भक्तजनहरुले गरेको नगद र जिन्सी दानको गणना कार्य सम्पन्न भएको हो ।
महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले सात लाख ३५ हजार रुपैयाँ भेटी संकलन भएको जानकारी दिनुभयो । मन्दिर परिसरमा राखिएको चार वटा दानपेटिकाबाट २५ दिनमा सात लाख ३५ हजार तीन सय ४१ रुपैया दान संकलन भएको हो ।यसैगरी मन्दिर व्यवस्थापन समितिको नगदी रसिदमार्फत दुई लाख ३१ हजार ७२ रुपैयाँ नगद संकलन भएको छ । दानपेटिका र रसिदबाट कुल नौ लाख ६६ हजार चार सय १३ रुपैयाँ भेटी संकलन भएको नगर प्रमुख यादवले जानकारी दिनुभएको छ ।नगर प्रमुख यादवका अनुसार नगद र भेटीका साथै सुनको सात थान र चाँदीका २६ थान गहना पनि दानपेटिकाबाट संकलन गरिएको छ । घटस्थापनाको दिनदेखि कात्तिक ११ गतेसम्ममा गढीमाई मन्दिर दर्शनको लागि आएका भक्तजनहरुले गरेको भेटी र जिन्सीको गणना भएको हो ।संकलित भेटी गढीमाई विकास कोषमा जम्मा हुनेछ । उक्त रकम मन्दिरको संरक्षण, व्यवस्थापनमा खर्च गरिने बताइएको छ ।