वीरगञ्ज,औषधी व्यवस्था विभागले वीरगञ्जको एक गोदाममा छापा मारेको छ । विभागका निमित्त कार्यालय प्रमुख मुकेन्द्र पंजियार नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित एक घरको गोदाममा छापा मारेर नेपालमा प्रतिबन्धित करिब १५ लाख मूल्य बराबरको भारतीय आर्युवेदिक औषधी नियन्त्रणमा लिइएको छ ।विभागका निमित्त कार्यालय प्रमुख पंजियारका अनुसार भारत पटनाको श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित विभिन्न ब्राण्डका १ सय ८० वटा कार्टुनमा रहेका ८ हजार बोत्तल औषधी बरामद गरिएको हो । औषधीसँगै सिरहा घर भएका हिमालयन सप्लायरका व्यवस्थापक महम्मद अतिक अनवरलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ ।औषधि व्यवस्था विभागको परीक्षणमा भारत पटनाको श्री वैद्यनाथ आर्युवेद भवनद्वारा उत्पादित औषधि अनुतिर्ण भएकाले उक्त कम्पनीको कुनै पनि औषधि नेपालमा आयात र बिक्री वितरण नगर्न भन्दै औषधि व्यवस्था विभागले यसअघि नै प्रतिबन्ध लगाईसकेको छ ।तर अनवरले उक्त भारतीय कम्पनीको औषधि जानाजान आयात गरेर बिक्री वितरणका लागि भण्डारण गरेको सूचना पाएपछि गोदाममा छापा मारिएको पंजियारले बताउनुभएको छ ।नियन्त्रणमा लिइएका अनवरलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा पठाइएको उहाँले जानकारी दिनुभयो ।


















