पुष्पराज खतिवडा
बारा – नगरपालिकामा मौलाएको बेथिती सच्याउन मागगर्दै कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुन सहितको टोलीले आफ्नै कार्यालयको मुल गेटमा ताला लगाईएका छन् । उनीहरु बोर्डको निर्णय कार्यान्वय नभएको, नियमित रुपमा बैठक नबोलाएको, आर्थीक बर्ष २०७५।०७६ को आयब्यय बोर्डका सदस्यलाई जानकारी नगराएको लगायत १३ बुँदे आरोप सहित प्रेस विज्ञप्ती निकालेर मंगलबार अपरान्न कार्यालयको मुल गेटमा ताला लगाईएका हुन् ।
विज्ञप्तीमा वडा नं. ५ का वडा अध्यक्ष रामअयोध्या मण्डलको उपचारमा आर्थीक सहायता दिने निर्णय कार्यन्वयनमा आनाकानी भएको, नगरको शिक्षा तथा स्वास्थ्य शाखाको काम प्रभावकारी नभएको उत्लेख गरेका छन् । हावाहुरी प्रभावितका लागि भएगरेको खर्चको यथार्थ विवरण हाल सम्मपनी बोर्डमा जानकारी नगराएकोमा आक्रोस ब्यक्त गरेका छन् ।
त्यस्तै नगर प्रमुख तर्फ ईन्गीत गर्दै आफ्ना दर्जनौं आसेपासेलाई ज्यालादारीमा नियूक्त गरि नगरको बजेट अनियमितता गरेको , नगरस्तरिय बजेटबाट भएगरेका विकास निर्माणका काम कमसल र समयमा सम्पन्न नगरेर अनियमिता गरेको आरोप लगाएका छन् । खुला दिशामुक्त अभियान संचालनका लागि दातृ निकायबाट प्राप्त रकम अपार्दर्शी ढंगबाट खर्च गरेको विज्ञप्तीमा भनिएको छ ।
स्वास्थ्य संस्थाका लागि औषधी खरिदमा अनियिमता गरेको , लामखुट्टे मार्ने कामका लागि लाखौंमा खरिद गरिएका औषधी प्रयोग नगरेर थन्काएकोमा उनीहरुले असन्तुष्टी पोखेका छन् । सरसफाईको काम आफ्ना मान्छेलाई ठेक्का दिएर अनिमितता गरेको , महागढिमाई मेलामा बोर्डको सहमती विनै सहायता कक्ष स्थापना गरि लाखौं रकम भ्रष्टाचार गरेको विज्ञप्तीमा भनिएको छ ।
वडा अध्यक्ष मण्डलको लिभरमा क्यान्सर भई तीन महिना देखी सिकिस्त छन् । उनको आर्थीक अवस्था दयनिय रहेकाले गत कार्तिक १६ गते बसेको नगरकार्यपालिका बैठकबाट उनलाई ५ लाख रुपैंया उपचार खर्च सहायता दिने निर्णय भएको थियो । उक्त रकम भुक्तानी गर्न कार्यालय प्रमुख र मेयरले आनाकानी गरेपछी बाध्य भएर आन्दोलनमा उत्रनु परेको उपप्रमुख खातुनले बताईन् ।
उपप्रमुख खातुन सहित वडा अध्यक्षहरु विक्रम यादव,हरिओम सोनार,जटाशंकर सहनी, राजेश महत्तो, वडा नं.५का कार्यवाहक अध्यष पुरुषोतम् लामा र नगरसभा सदस्य शम्भु कुमार गुप्ताले संयूक्त रुपमा ताला लगाउँदै विज्ञप्ती समेत जारी गरेका हुन् ।