टीकापुर – टीकापुर नगरपालिका–७ सत्तीस्थित शिवालयका नाममा कुनै बेला सात सय बिघा जमिन थियो। तर अहिले उक्त शिवालयका नाममा आठ कट्ठा १४ धुर मात्रै छ। दुई कट्ठा १० धुर शिवालय भएको क्षेत्र हो भने ६ कट्ठा चार धुर दानबापत प्राप्त भएको हो। स्थानीय हरिओमप्रसाद श्रेष्ठले ६ कट्ठा र हरिकुमार कार्कीले चार धुर जमिन शिवालयका नाममा दान गरेका हुन्। उक्त शिवालय हाल पद्म प्रकाशेश्वर महादेव मन्दिरका नामले चिनिन्छ।

 

 

शिवालयका नाममा पहिला भएको सात सय बिघा अहिले कुन अवस्थामा छ भन्नेबारे कसैलाई जानकारी छैन। शिवालयका नाममा रहेको सात सय बिघा कहाँ गयो भन्ने विषयमा खोजीनिती हुन नसकेको मन्दिर संरक्षण समितिका अध्यक्ष विदुर कायस्थ बताउँछन्। ‘शिवालयका नाममा सात सय बिघा थियो भन्ने प्राप्त प्रमाणले देखाउँछ,’ उनले भने, ‘तर त्यसको आधिकारिकता हामीसँग छैन।’

 

 

शिवालयका नाममा जमिन भएको कुरा पुुरातत्व विभागले प्रकाशन गरेको ‘प्राचीन नेपाल’ नामक जर्नलमा उल्लेख छ। सो जर्नलमा शिवालयको जमिन भारतको तिकुनियाँ, बेलराया, सिघाईसम्म थियो भन्ने पनि उल्लेख छ। यही कुरा पूर्णप्रकाश नेपालले प्रकाशन गरेको ‘सेतीको नालीबेली’ पुस्तकमा पनि छ। सो किताबमा उक्त शिवालयका नाममा १२ गाउँ रहेको उल्लेख छ।

 

पुस्तकका अनुसार ती गाउँ पुछवाड, गोलगाउँ, गोकर्ण नाथलगायत छन्। मन्दिर संरक्षण समितिका अध्यक्ष कायस्थ तिनै गाउँ हालका पुछरी, गोलालगायत हुन सक्ने बताउँछन्। नेपालको पुस्तकमा कलुवापुर रजवारकी पत्नी रानी पद्मकुमारी शाहले १९७२ सालमा उक्त शिवालय जीर्णोद्धार गरेको उल्लेख छ। तर स्थानीय बासिन्दा १९४० सालमै शिवालयको जीर्णोद्धार भएको प्रमाण भेटिएको दाबी गर्छन्। स्थानीय शिवालयमा प्रयोग भएको १९४० लेखेको इँटालाई प्रमाणका रूपमा औंल्याउँछन्।

 

 

‘सेतीको नालीबेली’ मा रानी पद्मकुमारी सती गएपछि उनका आफन्तले शिवालयको जमिन बेचबिखन सुरु गरेको हुन सक्ने उल्लेख छ। मन्दिर संरक्षण समितिका अध्यक्ष कायस्थ यस कुराले त्यति बेलासम्म पनि शिवालयका नाममा धेरै जमिन रहेको पुष्टि हुने बताउँछन्।

 

 

कायस्थका अनुसार शिवालयको जमिन बेचबिखन भएको अर्को प्रमाणसमेत छ। त्यो प्रमाण गुठी संस्थानले २०५६ र २०७१ सालमा प्रकाशन गरेको स्मारिका हो। स्मारिकामा कैलालीमा गुठी संस्थानमा आबद्ध मन्दिरहरूको तीन सय ७१ बिघा जमिन अर्काको स्वामित्वमा गएको उल्लेख छ। संस्थानमा कैलालीबाट यो शिवालय र धनगढीस्थित नैनादेवी मन्दिर मात्रै आबद्ध रहेको कायस्थले बताए। साबिक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायतले शिवालयका नाममा धेरै जमिन भएको आफूले सानैदेखि सुन्दै आएको बताए। उनले आफू गाविस अध्यक्ष भएपछि जग्गाबारे सोधखोज गर्दा आवश्यक ठोस प्रमाण भेट्न नसकेको बताए। ‘मैले पनि शिवालयका नाममा धेरै जग्गा भएको सुन्दै आएको हो,’ उनले भने, ‘तर खास प्रमाण भेटिँदैन।’

 

 

साबिक नारायणपुर गाविसमा धेरै ऐलानी जमिन छ। कसैका नाममा दर्ता स्रेस्ता हुन नसकेको सो ऐलानी जमिन शिवालयको हुन सक्ने स्थानीय बताउँछन्। स्थानीयले वडा ६ मा मात्रै अझै दुई बिघा ऐलानी जमिन रहेको बताए। तर केही व्यक्तिले ऐलानी जमिन आफ्नो नाममा दर्ता गराएका छन्। स्थानीयका अनुसार शिवालय आसपासको ऐलानी जमिनसमेत तिनै व्यक्तिहरूले कब्जा गरेका छन्। स्थानीय ज्ञानु श्रेष्ठले शिवालय आसपासको जमिन केही वर्षअघिसम्म व्यक्तिका नाममा दर्ता गर्ने क्रम जारी रहेको बताए। ‘अघिल्लो वर्षसम्म नामसारी गर्ने काम भइरहेको थियो,’ उनले भने, ‘यस्तो गर्ने केही व्यक्ति त मन्दिरको संरक्षण गर्छु भन्नेहरू पनि थिए।’ त्रेता युगमा परशुरामले हत्याको प्रायश्चित गर्न उक्त ठाउँमा शिवालय निर्माण गरेको किंवदन्ती छ। साभार  : नागरिक

Leave a Reply