साउन ६, धादिङ्ग– घर माथिबाट आएको पहिरोले घर पुरिँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । गएराति पहिरोले पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–६ का जीवन खाँड, उनकी श्रीमती विमला खाँड र अन्दाजी तीन वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिनुभयो । राति पहिरो गएकाले उनीहरुको शव छिमेकीले निकालेको थिए । अहिले जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ ।

लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ । गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राविमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो । बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिनुभयो । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उहाले बताउनभुयो । बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ । त्यस्तै सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताउनुभयो ।

पृथ्वी राजमार्ग खोल्न दुई दिन लाग्ने

पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना÷ठूला २०० भन्दा बढी पहिरो खसेका छन । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।

सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार मंगलबार पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उहाले मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना÷ठूला २०० भन्दा बढी पहिरो खसेका छन । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।
मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उनले बताए । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग मंगलबार बिहान छलफल गरी काम अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले पानी रोकिएपछि सो सडकखण्ड खुलाउन दुई दिन लाग्ने बताउनुभयो । वैकल्पिक मार्ग प्रयोग गर्नुको विकल्प अहिले नरहेको पनि उहाको भनाइ छ ।

यता नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको ठूलो पहिरो पन्छाउन सकिएको छैन । डिभिजन सडक कार्यालय भरतपुरका ई शिव खनालका अनुसार पानी केही रोकिएमा पहिरो पन्छाउन शुरु गरिनेछ । काम थालेको चार घण्टामा थप पहिरो र पानी नआएमा चार किलोमा एकतर्फी सडक खोल्न सकिने उहाँले जानकारी दिनुभयो। सो ठाउँमा सोमबार बिहान ५ बजे पहिरो खसेको हो । चार किलोको वरिपरि र अन्य ठाउँमा पनि साना पहिरो खसेको उहाको भनाइ छ ।
सडक अवरुद्ध भएपछि राजधानी काठमाडौँ जाने र बाहिरिने धेरै सवारी साधन सडकमा अलपत्र परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here