सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इनरुवा नगरपालिका–३ निवासी ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झुम्का बजारमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि शनिबार साँझ करिब ६ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

प्रहरी टोलीले बजार क्षेत्रमा सडक छेउमा मोटरसाइकलमा अडेस लागेर बसिरहेका दुवै जनालाई शंका लागेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट १४ ग्राम ७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ । उनीहरू सवार प्रदेश १–०२–०५५ प ४१०६ नम्बरको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

बरामद पदार्थ र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

Leave a Reply