१३ मंसिर, काठमाडौं । म्यानमारमा विवाह समारोहलाई लक्षित गरी गरिएको सैन्य हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो दक्षिणी शान राज्यको मो बाइ गाउँमा आयोजित विवाह समारोहमा सेनाले हवाई आक्रमण गरेको उद्धारकर्मीहरूले बताएका छन् । आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३५ जना घाइते भएका छन् ।

म्यानमारको निर्वासित राष्ट्रिय एकता सरकार ९एनयूजी० का अनुसार यसअघि बिहीबार मध्य म्यानमारको मागवे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा पनि सेनाले हवाई आक्रमण गरेको थियो । उक्त आक्रमणमा विद्यार्थी, युवा बौद्ध भिक्षु तथा शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारणको मृत्यु भएको थियो ।

यी आक्रमणबारे म्यानमारको सैन्य नेतृत्वको सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

शनिबार साँझ पश्चिमी म्यानमारको राखिन राज्यस्थित म्रौक–यू सहरमा पनि सेनाले हवाई आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सहरको आवासीय क्षेत्रमा भएको आक्रमणमा १० भन्दा बढी व्यक्तिको मृत्यु भएको र करिब २० जना घाइते भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

उक्त क्षेत्र म्यानमारको सैन्य शासनविरुद्ध संघर्षरत प्रमुख विद्रोही समूह अरकान आर्मी ९एए० को नियन्त्रणमा रहेको छ ।

सन् २०२१ मा तत्कालीन नेतृ आङ सान सुकीको नेतृत्वमा रहेको निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमार लामो गृहयुद्धमा फसेको छ । त्यसयता देशका विभिन्न क्षेत्रमा सैन्य कारबाही जारी रहँदै आएको छ भने सैन्य हवाई आक्रमणका घटना पनि नियमित रूपमा भइरहेका छन् ।

Leave a Reply