नयाँ दिल्ली । दिल्ली प्रहरीले इतिहासमै सबैभन्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ । करिब १२ सय करोड भारतीय रुपैयाँ बराबरको ३ सय १२ किलो मेथाम्फेटामाइन लागूऔषधसहित दुई अफगान नागरिकलाई पक्राउ गरिएको दिल्ली विशेष प्रहरी सेलले जनाएको छ ।

उनीहरूबाट १० किलो शुद्ध हेरोइनसमेत बरामद गरिएको छ ।आरोपीहरूलाई नयाँ दिल्लीको कालिन्दी कुञ्ज मेट्रो स्टेशन नजिकैको मेथापुर रोडबाट पक्राउ गरिएको हो ।

सन् २०१६ देखि भारतमा बस्दै आएका २३ वर्षीय मुस्तफा स्टानिकजा र ४४ वर्षीय रहिमुल्लाह रहिमले विदेशबाट लागूऔषध दिल्लीमा ल्याउने सूचना पाएपछि दिल्ली प्रहरीले पक्राउ गरेको बताएको छ ।

एसीपी ललित मोहन नेगी र हृदय भूषणको नेतृत्वमा रहेको टोलीले इन्स्पेक्टर विनोद कुमार बडोला र इन्स्पेक्टर अरविन्द कुमार र एसआई सुन्दर गौतम र एसआई यशपाल सिंहको सहयोगमा ती व्यक्ति पक्राउ गरिएको हो ।

पक्राउ गरेसँगै अन्तर्राष्ट्रिय सिंथेटिक लागूऔषध कारोबारीको पर्दाफाश गरिएको प्रहरीको दाबी छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Leave a Reply