निजगढ,बाराको निजगढस्थित एक वर्कशपमा भएको शंकास्पद बस्तु विष्फोटनको घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कशपमा सोमवार दिउसो भएको विष्फोटमा परेर घाइते बनेका वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने २० को रितु रजत जैसवालको मंगलवार बिहान उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । यसअघि सोमवार राति भारतीय नागरिक वर्ष ३५ का राकेश जैसवाल र दिउसो वर्कशप संचालक निजगढ नगरपालिका वडा नम्बर ७ का ४३ वर्षीय रेशम मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

घटनामा दोषि देखिएको आंशकामा प्रहरीले कवाडी पसल मालिक निजगढ ९ बस्ने भारत मोतिहारीका राज भनिने रमेश जैसवाल, कवाडीको सामान बोक्ने ट्रकका सहचालक निजगढ ९ का २९ वर्षिय टिकाराम पाख्रिनलाई पक्रउ गरेको छ । सोमवार नै पक्राउ परेका उनीहरुलाई मंगलवार जिल्ला अदालत बाराबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।
ट्रकमा राखेर कवाडी पगाल्ने कारखानातर्फ लैजाने क्रममा निजगढ ९ भमरा टोल बस्ने चालक बासु लामाले चोरेर घरमा राखेको १ क्विन्टल ३२ किलो कवाडी सामानसहित सो विष्फोटक बस्तु ट्रकका सहचालक पाख्रिनले ६ हजार २ सय रुपैयामा जैसवालको कवाडी पसलमा सोमवार नै बिक्री गरेका थिए । जैसवालले सो बस्तुभित्र रहेको भनिएको तामा र पित्तल निकाल्न भनेर उक्त विष्पोटक बस्तु वर्कशपमा पु¥याएका हुन ।
प्रारम्भिक अनुसन्धानमा धनुषाको धारापानीस्थित एक कवाडी पसलबाट उक्त विष्पोटक पदार्थ पनि चालक लामाले ट्रकमा लोड गरेर निजगढस्थित घरमा ल्याएर राखेको खुलेको प्रहरीले बताएको छ ।विष्फोटमा सामान्य घाइते बनेका जैसवाल सोमवार दिउसो कलैयाबाट पक्राउ परेपछि उनैले दिएको बयानको आधारमा ट्रकका सहचालक पाख्रिन पनि पक्राउ परेका थिए । पाख्रिनले सो सामान धनुषाको धारापानीस्थित एक कवाडी पसलबाट ल्याइएको बताएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । ट्रकका चालक लामा भने अझै सम्पर्कमा आइनसेकोले खोजी भइरहेको प्रहरीले बताएको छ । कवाडी बोक्ने ट्रकको नम्बर पनि अझै खुल्ने नसकेको प्रहरीले जनाएको छ ।यसैबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले घटनाका घाइते र आफन्तहरुसंग भेटघाट गर्नुभएको छ । नगर प्रमुख पुरीले मंगलवार वीरगञ्जस्थित बयोधा अस्पतालमा पुगेर घाइतेसहित अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुसंग भेटघाट गर्नुभएको हो । सो क्रममा पीडितहरुको उचित उपचारको लागि नगर प्रमुख पुरीले चिकित्सकहरुसंग आग्रह गर्नुभएको थियो ।



















