जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपारमा रहेको एभरेष्ट पेन्टस उद्योगका मजदुरलाई व्यवस्थापन पक्षले धम्काएर जवरजस्ति राजिनामा पत्रमा सहीछाप गर्न लगाइएको छ ।
कारखाना व्यवस्थापन पक्षले मजदुरलाई धम्काएर मासिक तलब बुझ्ने भरपाइमा सहीछाप गराएको कारखानाका मजदुर नरेश चौधरीले बताउनुभयो ।
उद्योगमा हाल दुई सय मजदुर कार्यरत छन् । कार्यालयमा काम गर्ने कर्मचारीबाहेक कारखानाका सबै मजदुरहरुलाई धम्काएर राजिनामा पत्रमा हस्ताक्षर गर्न लगाइएको विरोधमा उद्योगको गेटमा धर्ना दिदै आउनुभएका अर्का मजदुर दुलचान चौधरीले बताउनुभयो ।
व्यवस्थापन पक्षको गलत कार्यले उद्योगका मजदुरहरु अहिले बिचल्लीमा परेका छन् । उद्योग व्यवस्थापन पक्षका राज सिहले उद्योग घाटामा रहेको र स्थानीय मजदुरहरुको तलब वृद्धि गर्न नसकिने बताउनुभएको छ ।