काठमाडौं,स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी–२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीवार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । ५१ बल खेलेका उनले ६ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले ३९ रन बनाए । डेब्यू गरेका भीम सार्कीले २७ रन बनाए ।
नेदरल्याण्ड्सका बेन फ्लेचर, आर्यन दत्त, रोलफ भान डर मर्वे र जाच लायन काचेटले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनाउँदै नेपाललाई १७५ रनको लक्ष्य दिएको थियो ।
नेदरल्याण्ड्सका लागि ओपनिङ ब्याटर माइकल लेभिटले ५३ बलमा ६ चौका र ५ छक्का सहित ८६ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै भेट्रान अलराउण्डर रोलफ भान डर मर्वेले २१ बलमा ३६ रनको अविजित पारी खेले ।
एक समय ४५–४ को अवस्थामा रहेको नेदरल्याण्ड्सका लागि लेभिटले एकतर्फी रूपमा आक्रमण गर्दै साकिब जुल्फिकरसँग मिलेर ६३ रनको साझेदारी गरे ।१२९–७ को स्कोर भएपछि भान डर मर्वेले आर्यन दत्तसँग मिलेर ४५ रनको साझेदारी गर्दै टिमको स्कोर १७४ सम्म पु¥याए ।नेपालका लागि करण केसीले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । त्यस्तै दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सन्दीप लामिछाने र रुपेश सिंहले १–१ विकेट लिए ।यस खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी–२०आईमा भीम सार्कीले डेब्यू गरेका छन् ।नेपालले अब शृंखलाको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्ने छ ।



















