वीरगन्ज,वीरगन्ज महानगरपालिकाले पनि अब एन्टिजेन परीक्षण गर्ने भएको छ । वीरगन्ज महानगरपालिकाले संकलन गरेको स्वाबको पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाई भएपछि महानगरपालिकाले पनि एन्टीजेन विधिबाट परीक्षण गर्ने भएको हो । कोरोनाको संक्रमण दर उच्च भएपछि पीसीआर परीक्षण गराउनेहरुको चाप नारायणी अस्पतालमा बढेको र वीरगन्ज महानगरपालिकाले अस्पतालमा स्वाब दिन जानेहरुको चाप घटाउन पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न सुरु गरेको छ । तर, महानगरपालिकाले संकलन गरेको स्वाब नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गरेर रिपोर्ट दिन ढिलो गरेपछि महानगरपालिकाले असन्तुष्टि जनाएको छ । संकलन गरिएको स्वाब लिएर जाँदा प्रयोगशालाका कर्मचारीहरुले समेत परीक्षणमा ढिलो गरेपछि महानगरका कर्मचारी र प्रयोगशालाका कर्मचारीबीच शनिबार राति विवाद समेत भएको थियो । शुक्रबादेखि महानगरपालिकाले स्वाब संकलन शुरु गरेको हो । संकलित स्वाब पीसीआर परीक्षणका लागि लिएर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिलो गरेपछि महानगरपालिकाका पीसीआर परीक्षणमा वेवास्ता गरेको गुनासो वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीलाई आएको थियो । उहाँले नारायणी अस्पतालको प्रयोगशालाका कर्मचारीहरुबाट बदमासी भएको र यस विषयमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रयोगशालामा जनशक्ति व्यावस्थापनका तीनजना कर्मचारी थप गर्न अस्पताललाई अनुमति दिने निर्णय भएको छ । बैठकमा महानगरपालिकाले पनि अब एन्टिजेन विधिबाट परीक्षण शुरु गर्ने निर्णय गरेको छ । रिपोर्टमा ढिलाई गरेपछि महानगरपालिकाका प्रमुख सरावगीले प्रमुख जिल्ला अधिकारीसँग असन्तुष्टि जनाउनुभएको थियो । त्यसपछि महानगरप्रमुख सरावगी प्रमुख जिल्ला अधिकारी घिमिरे र अस्पतालका प्रमुख सहितको उपस्थितिमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले महानगरपालिकाले पनि एन्टिजेन परीक्षण गर्ने निर्णय भएको महानगर प्रमुख सरावगीले बताउनुभयो । एन्टिजेन परीक्षणका लागि नारायणी अस्पतालले १ हजार एन्टिजेन उपलब्ध गराउने निर्णय भएको महानगर प्रमुख सरारवगीले बताउनुभयो । अस्पतालाका मेसु डाक्टर सञ्जय ठाकुरले भने अहिले अस्पतालमा पनि एन्टिजेन कम रहेकोले जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश सरकार तथा केन्द्र सरकारलाई समेत उपलब्ध गराउन अनुरोध गरेको बताउनुभयो । महानगरपालिकाले पनि टेण्डर मार्फत तीन हजार एन्टिजेन खरिद गर्न नगर प्रमुख सरावगीले बताउनुभयो ।

यसैबीच वीरगन्ज महानगरपालिकाले शुक्रबारदेखि समुदायस्तरमा शुरु गरेको कोरोना परीक्षण कार्यको तेश्रो दिन आइतबार ८४ जनाको स्वाब संकलन गरिएको छ । वीरगन्जमा संक्रमण दर बढ्दै गएपछि शुक्रबारदेखि महानगरपालिकाले स्वब संकलन कार्य शुरु गरेको हो । आइतबार बालमन्दिर परिसमा स्वाब संकलन गरिएको महानगरपालिकाका स्वास्थ्यकर्मी जहिर आमलले जानकारी दिनुभयो । शनिबार दोश्रो दिन ८१ जनाको स्वाब संकलन गरिएको थियो भने शुक्रबार ४९ जनाको स्वाब संकलन गरिएको थियो । संकलन गरिएको स्वाबहरु परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाउने गरिएको आलमले जानकारी दिनुभयो । स्वाब परीक्षण गराउनको लागि कुनै शुःल्क नलाग्ने वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

Leave a Reply