आरके चौधरी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पूर्ण खोप दिगोपना तथा सुनिश्चितता घोषणा गर्ने उद्देश्यले पालिका स्तरीय खोप समन्वय समिति बैठक सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष श्री जस्वन्त यादवको अध्यक्षतामा गाउँपालिका सभा हलमा आयोजना गरिएको थियो ।बैठकमा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, वडा नं. १ का अध्यक्ष श्री बासुदेव महतो थारु, प्रमुख प्रशासकीय अधिकृत संजीवकुमार यादव, सामाजिक विकास प्रमुख बिनोद यादव, स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले पूर्ण खोप दिगोपना तथा सुनिश्चितताको महत्व, हालसम्मको प्रगति अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो । उहाँले पालिकालाई पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गर्न सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।गाउँपालिका अध्यक्ष जस्वन्त यादवले बालबालिकाको स्वास्थ्य संरक्षण र सुरक्षित भविष्यका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्पूर्ण निकाय तथा जनप्रतिनिधिलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।


















