काठमाडौं, १० मंसिर । लामो समयदेखि जानकारीबिना कार्यालयमा अनुपस्थित रहेका १४ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानून तथा मानव अधिकार महाशाखा ९कानून शाखा० ले सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो।
प्रहरी प्रधान कार्यालयले सम्बन्धित कर्मचारीलाई आफू गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित उपस्थित हुन निर्देशन दिएको छ। सूचनामा काठमाडौं, तनहुँ, पर्सा, महराजगञ्ज, जाजरकोट, इलाम, पाल्पा, मकवानपुर, इन्द्रदेही, सुर्खेत, कञ्चनपुर र रामेछापलगायत विभिन्न स्थानमा दरबन्दी रहेका प्रहरी कर्मचारीहरूको विवरण समावेश गरिएको छ।
कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आई हाजिर हुन स्पष्ट निर्देशन दिएको छ।
तोकिएको समयभित्र गैरहाजिर हुनुको कारणसहित कार्यालयमा उपस्थित नभए प्रचलित नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।
लामो समयदेखि सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीलाई सेवामा फर्काउन र संगठनको अनुशासन कायम राख्न प्रधान कार्यालयले यस्तो सूचना जारी गरेको हो।
















