वीरगञ्ज, १० मंसिर । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जका प्रथम वर्षका आवासीय चिकित्सकहरूले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिँदै आजदेखि नियमित काममा फर्किने भएका छन्। कलेज प्रशासन र आन्दोलनरत चिकित्सकबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरूले आन्दोलनका कार्यक्रम अन्त्य गरेका हुन्।
शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० को डिन कार्यालय, नेपाल मेडिकल काउन्सिल तथा कलेज प्रशासनसँगको समन्वयमा सहमति जुटेपछि चिकित्सकहरूले मंसिर १० गतेदेखि नियमित ड्युटीमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन्।
सहमति अनुसार आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि आवासीय चिकित्सकमाथि कारबाही, दण्ड, सजाय वा प्रतिशोधपूर्ण व्यवहार गरिने छैन। उनीहरूलाई मानसिक तनाव दिने, धम्की दिने तथा कलेज वा छात्रावासबाट निष्कासनसमेत नगर्ने प्रतिबद्धता कलेज प्रशासनले जनाएको छ।
त्यस्तै, आन्दोलन अवधिमा कटौती गरिएको समेत सम्पूर्ण रोकिएको स्टाइपेन्ड फिर्ता गर्ने सहमति भएको छ। स्त्री तथा प्रसूति रोग विभागका ६ जना आवासीय चिकित्सकको अनुपस्थिति र रोकिएको स्टाइपेन्डसमेत बिनासर्त फिर्ता गराउन आईओएममा पहल गरिने सहमति पत्रमा उल्लेख छ।
यसैगरी, २०८३ वैशाख १३ गतेदेखि कलेजमै उपस्थित भएर नियमित ड्युटी गर्दागर्दै छुटेको हाजिरी सम्बन्धित विभागीय प्रमुखको अभिलेखका आधारमा पुनः कायम गरिने भएको छ। यसका लागि आईओएम डिन कार्यालयसँग समन्वय गरिनेछ। आन्दोलन अवधिमा कुनै पनि चिकित्सकलाई अनुपस्थित नदेखाउने तथा बिदा स्वीकृतिका लागि विभागीय प्रमुख र कार्यक्रम संयोजक दुवैको हस्ताक्षर पर्याप्त हुने व्यवस्था पनि गरिएको छ।
ड्युटी व्यवस्थापनतर्फ आवासीय चिकित्सकलाई सातामा दुईभन्दा बढी २४ घण्टे ड्युटीमा नखटाउने सहमति भएको छ। ड्युटीपछिको आराम आईओएमको निर्णय नम्बर ५७४७ अनुसार उपलब्ध गराइनेछ। सबस्पेसियालिटी रोटेसन आवश्यक परेमा पेरिफेरल पोस्टिङसमेत सोही निर्णयअनुसार व्यवस्थापन गरिने भएको छ।
आन्दोलनमा सहभागी भएकै कारण कुनै पनि चिकित्सकलाई नियमित परीक्षामा सहभागी हुनबाट वञ्चित नगरिने सहमति पनि भएको छ। त्यस्तै, शोधपत्र ९थेसिस० स्वीकृति तथा हस्ताक्षर प्रक्रियामा प्रतिशोधपूर्ण व्यवहार वा अनावश्यक ढिलाइ नगर्ने प्रतिबद्धता कलेज प्रशासनले जनाएको छ।
कलेजबाट राजीनामा दिएका तथा रिलिज लेटर प्राप्त गरेका आवासीय चिकित्सकहरूलाई समेत बिनासर्त पुनः कलेजमा भर्ना गरिने सहमति भएको छ।
सहमति पत्रमा उल्लेख गरिएका सबै बुँदा पूर्ण रूपमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै आवासीय चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्। सहमतिसँगै नेशनल मेडिकल कलेज प्रशासन र आवासीय चिकित्सकबीच लामो समयदेखि जारी विवाद तत्कालका लागि अन्त्य भएको छ।
यससँगै अस्पतालको नियमित स्वास्थ्य सेवा प्रवाहसमेत सहज हुने अपेक्षा गरिएको छ।

















