नेपालमा विभिन्न चाडपर्व मनाइन्छ । यी चाडपर्वमा ठाउँ, जाति र समुदायअनुसार विभिन्न परिकार बनाउने चलन छ । तीमध्ये खीर पनि एक हो । नेपाली संस्कारमा शुद्ध र पोषिलो परिकारका रूपमा यो प्रख्यात छ । जीवनको पहिलो खाना (अन्नप्राशन) का रूपमा बालबालिकालाई खीर खुवाउने चलन छ । चामल र दूधबाट बन्ने खीर शुद्ध, स्वस्थकर, पोषिलो र नरम परिकार भएकाले धेरैजनाको रोजाइमा पर्छ । नेपालमा साउन १५ लाई खीर (खाने दिन) दिवसका रूपमा मनाइन्छ । खीर गुलियो, मीठो, चिप्लो र गिलो हुने भएकाले निल्न सजिलो हुन्छ । त्यसैले जुनसुकै उमेर समूहका लागि यो अति नै उपयोगी हुन्छ । यो २०–४० मिनेटमै पकाउन सकिन्छ । चामललाई दूधमा हालेर पकाइन्छ । पछि त्यसमा स्वादअनुसार चिनी, सुकेको फलसँगै मसला हाल्ने गरिन्छ । यसरी पकाएको खीरमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, खनिज, क्याल्सियम र भिटामिन पाइन्छ । यो सन्तुलित परिकार हो । शाकाहारीहरूका लागि विशेष खानाका रूपमा खीर प्रचलित छ । पोषक तत्वहरू खीरमा प्रोटिन, फ्याट, कार्बोहाइडे«टका साथै धेरै मात्रामा क्याल्सियम र आइरन पाइन्छ । साथै यसमा भिटामिन ‘ए’, ‘बी’ र ‘डी’ पनि प्रशस्त मात्रामा पाइन्छ । एक दिनमा एक वयस्क मानिसका लागि दुई हजार क्यालोरी चाहिन्छ । एक कचौरा खीरमा २० प्रतिशत क्यालोरी प्राप्त गर्न सकिन्छ ।

 

 

आवश्यक सामग्री

दूध–३ सय मिलिलिटर चामल– ५० ग्राम नरिवल–५ ग्राम सुकेको फल–५ ग्राम बदाम–१० ग्राम स्वादअनुसार ल्वाङ, सुकमेल र दालचिनीको धूलो ।

 

बनाउने तरिका

– चामललाई पानीमा केही समय भिजाउने । –दूधलाई सानो आगोमा उमाल्ने । –उमालेको दूधमा भिजाएको चामल राखेर चलाउँदै पकाउने । –चामल पाकेपछि चिनी, ल्वाङ, सुकमेल र दालचिनीको धूलोसँगै मसिनो गरी काटेको नरिवल, बदाम र सुकेका फलहरू हाल्ने । यी फलहरूलाई धूलो बनाएर पनि हाल्न सकिन्छ । अब चलाउँदै पकाउने ।

 

यसरी तयार पारेको खीर यत्तिकै खान सकिन्छ । अचार वा तरकारीसँग खीर खाँदा थप स्वादिलो हुन्छ । यो परिकार पाचन प्रणालीसँग सम्बन्धित बिरामीका लागि अति नै उपयोगी मानिन्छ । जस्तो, इन्फ्लामेटरी बाउल डिजिज, इरिटेबल बाउल सिन्ड्रोम, पखाला वा कब्जियत दुवैका लागि उपयोगीे हुन्छ । साथै मुख, दाँत, टाउको, घाँटी र आमाशयको शल्यक्रियापछि पनि खीर पकाएर दिन सकिन्छ भने यो राम्रोसँग चपाउन नसक्ने बिरामीहरूका लागि अति नै उपयोगी परिकार हो ।

 

(लेखक ग्रान्डी अस्पतालमा नर्स तथा पोषणविद् हुन् )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here