फाईल तस्विर

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

यसअघि गत मङ्सिर ७ गते न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा उक्त रिटको पेसी तोकिएको थियो। तर, नवनियुक्त आईजीपी डा। मनोज केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको मागसहित सर्वोच्चमा रिट दायर गरेका हुन्। उनले नवनियुक्त प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन्।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो।

अब केसीको नियुक्ति कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा दुवै पक्षको सुनुवाइपछि अदालतले निर्णय गर्नेछ।

Leave a Reply