रञ्जना खतिवडा

साउन १९ गते श्रीमान केदारनाथ दवाडीलाई हल्का ज्वरो आयो । गाउँघर, सहरबजार, देशविदेश चारैतिर कोरोना महामारीको सन्त्रास फैलिरहेकै थियो । यस्तो बेलामा ज्वरो आएपछि अब नतर्सिने कुरै थिएन । श्रीमानजीले अलग्गै (आइसोलेशन) बस्ने कुरा गर्नु भएको थियो ।

 

उहाँको कुरा नराम्रो त थिएन । यस्तो अवस्थामा सकेसम्म सबैले सुरक्षा उपाय अपनाएर बस्नु राम्रो हो । मेरै सुरक्षाको लागि श्रीमानले यस्तो भन्नुभएको थियाे । तर खै किन हो कुन्नि उहाँलाई एक्लै छोडेर बस्न मेरो मनले मानेन् । मैले नै संगै बस्नु पर्छ भनेर कर गरेँ । घरमा हामी दुई जनामात्र थियौैँ । शायद त्यहि भएर हुनुपर्छ । एक्लै हुँदा हेरचाह गर्ने कोही हुदैन भन्ने लागेर नै मनले नमानेको । हुन पनि उहाँको हेरचाह गर्ने अर्को कोही थिएन । अब मैले उहाँलाई पानीपट्टी गर्ने, औषधि, खाना र खाजाको प्रवन्ध गर्न थालेँ ।

 

श्रीमान जगदम्बा स्टील कम्पनीमा काम गर्नुहुन्छ । कम्पनीका अरु धेरै कामदारमा कोरोना संक्रमण भइसकेको थियो । । ज्वरो आउन थालेको ३ दिन भइसक्दा पनि उहाँको अवस्था भने विल्कुल सामान्य नै थियो । त्यो दिन कम्पनीबाटै पिसीआर परीक्षणको लागि स्वाब संकलन गर्ने कुरो भएको रहेछ । चिनेजानेका सबैले अहिलेको सिजन नै ज्वरोको छ । यो बेला ज्वरो आउनु सामान्य कुरा हो । दुई÷चार दिनमा आफै ठिक हुन्छ ।

 

अलिअली ज्वरो आउदैमा डराएर पिसिआर चेक गराइहाल्नु पर्दैन भनेका थिए धेरैले । तर उहाँले मान्नु भएन । उहाँले पनि साथीहरुसैगै स्वाब दिनुभयो । म दुई जिउँकी गर्भवति थिए । आफनो स्वास्थ्यको चिन्ताले भन्दा पनि मेरो कारणले चेक गराउने बिचार गनुर्् भएको थियो उहाँले । यदि उहाँलाई संक्रमण भइसकेको रहेछ भने मलाई पनि हुनसक्छ र त्यस्तो अवस्थामा मलाई झन गाह्रो होला भन्ने लागेको रहेछ उहाँलाई ।

 

केही दिनपछि श्रीमानको ज्वरो कम हुदै गयो । तर अब मलाई ज्वरो आउन थालेको थियो । एक त गर्भवती, त्यसमाथि पनि हन्हन्ति ज्वरो । म दुई दिनसम्म त ओछ्यानबाट उठ्न पनि सकिन । शरीर पुरै गलेको थियो । उता, तीन दिनपछि श्रीमानको पिसीआर रिपोर्ट पोजेटिभ आयो । तर त्यो कुरा मलाई सुनाउनु भएन । कम्पनीबाट जब उहाँलाई आइसोलेशनको लागि होटेलमा लैजाने तयारी भयो । त्यसपछिमात्रै मैले त्योे कुरा थाहा पाएँ । म आत्तिन्छु भन्ने लागेर कुरा लुकाउनु भएको रहेछ उहाँले ।

 

अब भने मलाई पनि कताकता डर लाग्न थालिसकेको थियो । ज्वरोले सिथिल बन्दै गएको शरीर । त्यसमाथि पनि ८ महिनाको गर्भवति । डर लाग्नु् स्वाभाविक पनि थियो । के गर्ने, कसो गर्ने, अब के पो हुने हो भन्ने कुराले मनमा छटपटी चल्थ्यो । श्रीमानले धेरै कुरा सम्झाउनु भएको थियो । अहिले कुनै समस्या छैन, केहि हुदैन नआत्तिनु । आत्माबल दहे बनाउनु पर्छ भन्नु हुन्थ्यो । उहाँको कुराले मलाई धेरै ढाढँस मिलेको पनि थियो ।

 

रिपोर्ट आएकै दिन उहाँलाई आइसोलेसनमा लगियो । अब त म झन एक्लै परेँ । खाना बनाउने र दिने मान्छेको कुरा त परै जाओस । मुखबोल्ने साथी पनि थिएनन घरमा । बिलखबन्दमा परे जस्तो हुन थाल्यो ।
एउटा रेडियोकर्मीको नाताले यसबीचमा मैले कोरोना संक्रमणले देश विदेशमा पुर्याएको मानवीय क्षेतिको बारेमा धेरै पटक समाचार वाचन गरिसकेको थिएँ । मैले आफैले वाचन गरेको देश विदेशका संक्रमित बारेको समाचार त्यति बेला बिम्ब बनेर आफैमा देखिए जस्तो भान हुन थाल्यो । शायद हाम्रा संचार माध्यमहरुले प्रशारण गर्ने समाचार, हामीले दिनहुँ प्रयोग गर्ने गरेको सामाजिक संजालबाट प्राप्त हुने सुचना, घरपरिवार र समाजमा कोभिड–१९ को बारेमा हुदै आएको अतिसयोक्तिपुर्ण चर्चाले पनि मेरो मस्तिष्कमा नजानिदो किसिमले ठुलै घर बनाइसकेको रहेछ । यही कारणले ममा पनि नचाहदा नचाहादै डर बढेको थियो ।

श्रीमान आइसोेलेसन जानु भएको दुई दिनपछि मेरो पनि पिसीआर चेक भयो । रिपोर्ट पोजेटिभ नै आउँछ भन्नेमा म ढुक्क जस्तै थिएँ । किनकी ज्वरो आउने, शरीर गल्ने, श्वास फेर्न गाह्रो हुने, स्वाद र गन्ध थाहा नपाउने कोरोनाको सबै लक्षण देखिएको थियो ममा । तर पनि टेगेटिभ आउला कि भन्ने झिनो आशा अझै मरेको थिएन । आफुले चाहेको जस्तोमात्रै नहुने रहेछ जीन्दगीमा । नचाहेको जस्तै मेरो रिपोर्ट पनि पोजेटिभ नै आयो । श्रीमान उता आइसोलेशनमा । म पनि संक्रमित भएर घरमा । दुबै एक्लाएक्लै । अब त बाँचिदैन होला कि जस्तो पनि लाग्थ्यो ।

 

श्रीमानसंगै गर्भको बच्चाको पनि बारम्बार याद आइरहन्थ्यो । त्यतिबेलाको अवस्था अहिले शब्दमा वर्णन गर्न पनि सक्दिन म । साच्चै काहालीलाग्दो थियो त्यो क्षण । अब के के न पो हुने हो जस्तो हुन्थ्यो । एक छिन एक्लै रोएर बस्थेँ । फेरि श्रीमानले आइसोलेसनमा जादै गर्दा भन्नुभएको कुरा याद आउथ्यो– ‘आत्तिनु हुदैन ।’ फेरि सम्हालिन्थेँ र श्रीमानलाई सम्झेपछि आत्माबल दहे हुन्थ्यो । श्रीमानको त्यही कुराले मलाई यहाँसम्म ल्याइपुर्याएको हो जस्तो पनि लाग्छ ।

सक्रमित भएको खबर माइतिघरमा पनि पुगेछ । माइतिबाट आफन्तले फोन गरेर हौसला दिन थाल्नु भयो । पत्रकार दाजु बिदुर खडका र नेपाल पत्रकार महासंघ बारा अध्यक्ष कमल उपाध्याय, गुरुप्रसाद गौतम, अनिल तिवारी, शारदा पोखरेल र नेकपाका नेता राजन पौडेलसहित अरु धेरै साथीहरु पनि भेटन आउन थाल्नुभयो । सबैले नआत्तिन र मनोबल उच्च पार्न सुझाव दिनु भएको थियो । घरमा साथीहरुको आउँजाउँ बढन थालेपछि मनोबल थपिदै गयो । हौसला बिस्तारै बुलन्द हुदै थियो । जीवनप्रतिको आशा पनि बढेर आयो । पेटको बच्चा र श्रीमान र मेरा शुभन्तिक साथीको लागि पनि मैलै बाच्नै पर्छ भन्ने लाग्यो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ बाट नगर सभा सदस्य रामचन्द्र लामालाई म कहिल्यै पनि बिर्सन सक्दिन । उहाँ पनि दिनहुँ जसो घरमा आएर हाल खबर सोधिरहनु हुन्थ्यो ।

 

श्रीमानलाई ज्वरो आएको दिनदेखि नै हामीले गुर्जो, तुलसाको पात, नुन, बेसार उमालेर तातोपानी खान थालिसकेका थियौँ । तातोपानीको प्रयोग यो बीचमा केही दिन टुटेको थियो । अब फेरि यसको प्रयोग नियमित हुन थाल्यो । आहार विहारमा पनि सुधार गर्न थालेँ । अब त घरभित्रै बसेर दिनहुँ हल्का व्यायम पनि गर्थ्ये म ।

यस क्रममा छरछिमेकीले हेर्ने दृष्टिकोण भने धेरै कमजोर पाएँ मैले । यस्तो अवस्थामा पनि के खबर छ भनेर एक बचन पनि नसोध्ने छिमेकी पनि देखिए । सक्रमित हुँदैमा कहिल्यै ठिक नहुने ठुलै रोग लागेको जस्तो गरेका थिए धेरैले । हिम्मत र हौसला दिनु पर्नेमा उल्टै घृणा गर्नेको कमी भएन समाजमा । कोरोना संक्रमण बारेमा व्यप्त भ्रम र जनचेतना अभावमा पनि होला धेरै त नजिक पर्न पनि डराएका थिए ।

 

अर्कोतर्फ गाउँमा संक्रमित हुने पहिलो परिवार भएर पनि हुन सक्छ । त्यस्तो व्यवहार खप्नु परेको हामीले । हुन त यसमा कसैलाई पनि दोष दिन चाहान्न म । यो हाम्रो समाजको चेतनास्तर र दृष्टिकोणको दोष हो । अशिक्षा र चेतनाको अभावमा यस्तो भएको हो । समाजको दृष्टिकोणमा परिवर्तन आओस भनेर मात्र मैले यो कुरा गरेको हुँ । नत्र यो कुरा गर्नको आवश्यकता पनि थिएन । यस्तो कुरामा व्यक्तिगत रुपमा कसैसंग मेरो कहिल्यै चित्त दुख्दा पनि दुख्दैन । कुरा बुझ्दै गएपछि मान्छेको व्यवहारमा आफसेआफ परिवर्तन आउने नै छ भन्ने लाग्छ मलाई । शायद गाउँमा संक्रमित हुने पहिलो परिवार हाम्रै भएर पनि होला यस्तो भएको । हामीसंंगै मेरो माहिलो जेठाजुलाई पनि संक्रमण भएको थियो । उहाँले पनि मैले जसरी नै होम आइसोलेशनमै बसेर कोरोना जित्नुभएको थियो ।

 

आफन्त मान्छे नजिक नहुनेहरु त यस्तो अवस्थामा रोगले भन्दा नि खानै नपाएर भोकमा मर्नु पर्ने हुदोँ रहेछ भन्ने पनि लाग्यो । तर धन्न आमाजुको घर नजिकै थियो । र मलाई भान्जीले खाना, खाजा ल्यादिने गर्नुहुन्थ्यो । साइलो जेठाजुको घर पनि नजिकै थियो । के चाहिन्छ, के खान मन छ भन्दै बेलाबेलामा खानेकुरा लिएर आउनु हुन्थ्यो । उता माइति पनि नजिकै थिए । आमा÷बाबाले पनि तागतिला खानेकुरा बनाएर ल्याइदिनु हुन्थ्यो । तर घरमा म जस्तै एक्लो तर आफन्त पनि नजिक नहुदा हुन त कसरी बाच्थ्ये होलान ती मान्छेहरु । होम आइसोलेशनमा बस्दा मेरो मनमा बारम्बार खटकिने सवाल थियो यो । अहिले त्यो कुराको कल्पना गर्दामात्रै पनि ज्यान फुलेर आउँछ मेरो । यस्तो बेलामा भोकले मर्नुको अर्को विकल्प हुदैनथ्यो ।
श्रीमान÷श्रीमति हामी दुबै जना अहिले संक्रमण मुक्त भएका छौं । संक्रमण मुक्त भएको १५ दिनपछि म सुत्केरी भएँ । अहिले मेरो काखे बच्चा पनि स्वस्थ छ । कुनै बेला यस्तो पनि लाग्छ– श्रीमानको मायाले मैले र मेरो मायाले गर्दाले नै उहाँले पनि यति सजिलै कोरोना जित्न सफल हुनु भएको हो । वास्तवमा हामी एकअर्कालाई धेरै माया गर्छौ । त्यही भएर शुरुमा उहाँलाई ज्वरो आउदा मैले जोखिम मोलेर पनि एक्लै छोडन मानिन र उहाँले पनि मेरो पिरले संक्रमण भएको कुरा लुकाउने प्रयास गर्नु भएको थियो । यतिबेला मलाई माया, प्रेम, सदभाव र विश्वास भयो भने मान्छेले काललाई पनि टार्न सक्दो रहेछ भन्ने अनुभुति भएको छ ।

(लेखिका बाराको जीतपुरस्थित रेडियो आकाशबाणीमा कार्यरत संचारकर्मी हुनुहुन्छ ।)

Leave a Reply