सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको १३औं नगर अधिवेशन एक विधेयक र तीन समितिको कार्यविधि पारित गर्दै बुधवार सम्पन्न भएको छ ।सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न अधिवेशनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८२, सुशासन समिति गठन र सञ्चालन कार्यविधि २०८२ र लेखा समिति गठन र सञ्चालन कार्यविधि २०८२ पारित गरेको हो ।

नगर प्रमुख राजन पौडेलले सभामा प्रस्तुत गरेको विधेयक र कार्यविधि पारितको प्रस्तावलाई नगरसभा सदस्यले अनुमोदन गरेका थिए । विधेयक र कार्यविधि पारित भएलगत्तै नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले समितिका संयोजक र सदस्यको नामावली सभामा प्रस्तुत गर्नुभएको थियो । विधायन समितिको संयोजकमा इन्दल हजरा, सदस्यमा नविन मैनाली, गरिब महतो र सुरेश यादव चयन भएका छन् ।यसैगरी सुशासन समितिमा सुशिलादेवी थरुनी संयोजक तथा नुरुल्लाह अंसारी, दीपेन्द्र चौधरी र राकेश सुब्बा सुब्बा सदस्य छन् । यस्तै लेखा समितिमा विशाल घिमिरे संयोजक, मोहन लिम्बु, गंगा पटेल, ईश्वर चौधरी सदस्य छन् । उपप्रमुख अधिकारीद्धारा प्रस्तावित समितिका संयोजक र सदस्यको नामावली सभाले पारित गरेको हो ।

नगर प्रमुख पौडेलले विधेयक र कार्यविधि पारित भएको जानकारी गराउँदै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी समेत सुरु भएको बताउनुभयो । उहाँले बजेट निर्माणका लागि वडास्तरमा छलफल चलाउन समेत नगरसभा सदस्यलाई आग्रह गर्नुभयो ।

नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको उद्घाटन समारोहमा जीतपुरसिमरा १६ का वडा अध्यक्ष हरिदेव खरेल, जीतपुरसिमरा १८ का वडा अध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा १० का वडा अध्यक्ष सञ्जय पटेल, जीतपुरसिमरा ९ का वडा अध्यक्ष मोतीलाल कुशवाहाले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply