वीरगञ्ज,आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा जिल्ला सुरक्षा समितिले सुरक्षा तयारी तीव्र पारेको छ । जिल्लाभर रहेका कुल १६७ मतदानस्थलमध्ये ६२ वटालाई ‘अतिसंवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको छ । बाँकी ८५ वटा मतदानस्थललाई संवेदनशील र २० वटालाई सामान्य सूचीमा राखिएको छ ।निर्वाचन क्षेत्र अनुसार पर्सामा मतदानस्थलको संख्या फरक–फरक छ । क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ वटा मतदानस्थल तोकिएका छन् । जिल्लाभर कुल ४४१ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र रहनेछन् ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायहरूबीच समन्वय र मतदानस्थलको निरीक्षण कार्य भइरहेको छ ।निर्वाचनको तयारी स्वरूप गत माघ २ गते नै जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । ती कार्यालयहरूको सुरक्षाका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ । निर्वाचन नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर गस्ती र निगरानी बढाइएको छ ।
पर्सा जिल्लामा यसपटक कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन् । जसमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र १५ जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक रहेका छन् । मतदाताको चाप र भौगोलिक संवेदनशीलताका आधारमा सुरक्षाकर्मीको परिचालन र व्यवस्थापन मिलाइएको छ ।
















